Logo

Banner-news

सृजना राणाको प्रश्न: हाम्रा नीति-नियममा व्यवसायीको अधिकार खोई ?


GDP Nepal
   ९ भाद्र २०७६, सोमबार


सृजना राणा
  • सृजना राणा

होटल संघ नेपाल नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका निभाएको एक महत्वपूर्ण संस्थाको रुपमा विगत ५३ वर्षदेखि आफ्ना सदस्यहरुको हक, हित तथा स्वार्थको वकालत गर्दै आईरहेको छ । अत्यन्तै लोकतान्त्रिक पद्धतीलाई अँगाल्दै आएको यो संस्थाको संरचनामा नेपालको पाँचतारे होटलदेखि ताराविहीन होटल तथा अन्तर्राष्ट्रिय चेन होटलहरुको समेत सहभागिता रहेको छ । यस संघले आफ्नो स्थापनाकाल देखि नै केवल आफ्नो स्वार्थको मात्र कार्य नगरी मुलुकमा पर्यटनको विकास, विस्तार तथा प्रवद्र्धनका कार्यहरु समेत गरी अर्थतन्त्र र रोजगारीको अवसरमा योगदान पु¥याएको सर्वविदितै छ ।

राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएतापनि यस क्षेत्रलाई व्यवहारिक हिसाबले उद्योगको दर्जामा राखेको छैन, जसको कारणले होटल उद्योगले राज्यबाट उपलब्ध गराउन सक्ने कुनै प्रकारको सहुलियत प्राप्त गर्न सकेको अवस्था छैन । विद्युत क्षेत्रमा उद्योगले प्राप्त गरेको सहुलियत आवश्यक भएको भनी विगत लामो समयदेखि आवाज उठाउदै आएको तथा सम्वन्धित क्षेत्रमा अनुरोध समेत भएकोमा हालसम्म कुनै कारवाही हुन सकेको छैन ।

होटल उद्योगहरुमा काम गर्ने कर्मचारीहरुको पारिश्रमिक, भत्ता, युनिफर्म, खाना एवं १० प्रतिशत सेवा सुविधा गरेर अन्य उद्योगहरुको तुलनामा होटलमा कार्यरत कामदार कर्मचारीले पाउने सुविधा झन्डै दुइ गुणाले भन्दा बढी हुन गएको माननीय मन्त्रीज्यूमा अवगत गराउन चाहन्छु ।

यसरी सुविधा प्राप्त गरे तापनि समय समयमा श्रमिकहरुबाट प्रतिष्ठानहरुमा राखिने अनावश्यक मागहरु तथा गैरकानुनी बन्द हड्ताल जस्ता विषयले नेपालमा पर्यटक भित्राउने कुरामा चुनौती भएको देखिन्छ । जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्ताहरुमा देखिएको उत्साहमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

हुन त होटल संघ नेपालले श्रम सम्बन्धलाई अत्यन्तै सकारात्मक तथा सौहार्दता कायम राख्नका निमित्त छुट्टै कार्यदलसमेत बनाई श्रमिकहरु तथा रोजगारदाताका बीचमा हुने विभिन्न समस्याहरुका विषयमा समय समयमा वार्ता, छलफल तथा सहकार्यका क्रियाकलापहरु गरी पर्यटन क्षेत्रलाई सदैव सकारात्मक सन्देश प्रवाह गर्ने कोशिस गरिराखेका छौं ।

हामीले आयोजना गर्न गइरहेको भ्रमण वर्ष लगायतका अन्य पर्यटन प्रवद्र्धनका कार्यहरुलाई सकारात्मक सन्देश प्रवाह गर्न नेपालको श्रम शक्ति प्रति सकारात्मक धारणाहरु प्रवाह गर्न आवश्यक देखिन्छ । यस कारण नेपालको पर्यटन क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर श्रमिकहरुले कुनै पनि माग राख्दा गैरकानुनी तवरबाट बन्द हड्ताल तथा अवरोध गर्ने कार्य हुनु हुँदैन भन्ने मान्यता आवश्यक रहेको देखिन्छ ।

मुलुकमा प्रशस्त विदेशी मुद्रा भित्र्याउने होटल उद्योगलाई अन्य निर्यात गर्ने व्यापारले प्राप्त गरेको सुविधा उपलब्ध गराउन सकेको छैन । वातावरणीय दृष्टिले समेत होटल उद्योगलाई हरित उद्योगको रुपमा हेर्न सकिन्छ किनभने अन्य उद्योगले जस्तो वातावरण प्रदूषण होटल उद्योगले गर्दैन ।

राज्यको सभ्यता तथा संस्कृतिको विश्व सामु परिचित गराई मुलुकमा रोजगारीको अवसर जुटाउन सफल भएको होटल उद्योगमा विविधता रहेको छ । यस उद्योगमा स्वरोजगार व्यवसायीदेखि बहुर्राष्ट्रिय लगानीमा स्थापित भएका होटलहरु समेत छन् ।

विशेषगरी नेपालमा होटल क्षेत्रमा रोजगारी गरी सानो तिनो लगानीमा होटल सञ्चालन गरेर जीविकोपार्जन गर्ने व्यवसायी समेत होटल संघ नेपालको सदस्यता प्राप्त गरेका सदस्यहरु छन् जसले हालै लागू गरिएका श्रम ऐन, सामाजिक सुरक्षा तथा न्यूनतम पारिश्रमिक जस्ता विषयको वास्तविक कार्यान्वयन गरी होटल सञ्चालन गर्न सक्ने क्षमता नरहेको भन्ने गुनासो हाम्रा सदस्य होटलहरुबाट आएको जानकारी गराउन चाहन्छु ।

विगतका समय देखि साना होटलहरुमा कार्यरत श्रमिकहरुलाई ट्रेनिङ्ग सेन्टरको रुपमा काम सिक्ने तथा क्षमता अभिवृद्धी गराउने र अन्य स्तरीय होटलमा काम गर्न सक्ने गरी विकास गराउने कार्य गरिरहेको समेत जानकारी गराउँदछु ।

वर्तमान श्रम नीति, कानुन, नियम तथा कार्यविधिहरुलाई अध्ययन गर्दा व्यवसायिक हकहितको भन्दा श्रमिकहरुको हितमा मात्र प्राथमिकता दिइने संरचनाहरु स्थापित भएको हामी व्यवसायीहरुलाई अनुभूत भएको छ । व्यवसायीले पनि आफ्ना कामदार कर्मचारीहरुको हकहित तथा संरक्षण र सम्बद्र्धनमा दत्तचित्त भई लागि परेको अवस्था छ ।

तर, राज्यले पनि व्यवसाय प्रवद्र्धनका लागि व्यवसायमैत्री नीति नियमको तर्जुमा गरी रोजगार प्रवद्र्धन गर्ने वातावरणको निर्माण गरिनु पर्दछ भन्ने हाम्रो भनाई रहेको छ । हाम्रा ऐन, नीति र नियममा व्यवसायीहरुको अधिकार खोई ? भन्ने प्रश्न उठ्ने गरेको छ ।

ताराविहीन होटल जसको २० जना भन्दा कम श्रमिकहरु राखि स्वरोजगार गरी जिविकोपार्जन गर्ने व्यवसायीहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोषलगायतको सेवा सुविधालाई स्वेच्छिक हुने गरी श्रम ऐनमा नै संशोधन हुने व्यवस्था गरिदिन भनि होटल संघ नेपालमा तारा विहीन होटलका सदस्यहरुको अनुरोध भएकोले यस तर्फ विचार गरी सवै वर्गका व्यवसायीहरुले
आफ्नो व्यवसायलाई निरन्तरता दिई समग्र पर्यटन क्षेत्रको औद्योगिक सम्बन्धलाई सहजीकरण गरी सहयोग गरिदिन हुन माननीय मन्त्रीज्यूमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

सामाजिक सुरक्षा कोषले आइतबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा होटल संघका अध्यक्ष सृजना राणाले दिएको मन्तव्यको सम्पादित अंश

प्रकाशित : ९ भाद्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह