Logo

Banner-news

उद्योग वाणिज्य संघमा देशैभर लोकतान्त्रिक लहर, ओलीको गृहनगरमै सत्तापक्ष चिप्लियो !


GDP Nepal
   २२ भाद्र २०७६, आइतबार


काठमाडौं । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीको सरकार छ भने प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपाको एकल बहुमतसहितको सरकार छ । प्रमुख प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अस्तित्व रक्षाको लडाइँमा रहेका बेला निजी क्षेत्रको नेतृत्व चयनमा भने देशैभर कांग्रेसको लहर चलेको छ ।

पछिल्लो पटक झापाको दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ । यो प्रधानमन्त्री केपी ओलीको गृहनगर हो र गत आम निर्वाचनमा झापा ५ को यस क्षेत्रमा ओलीले आफ्ना प्रतिद्न्द्वी खगेन्द्र अधिकारीभन्दा २७ हजार ८ सय मत बढी अर्थात ५७ हजार १३९ मत पाएर विजयी भएका हुन् ।

कुल १ लाख ३७ हजार ५१४ मतदाता रहेको झापा ५ मा ९३ हजार ४८ मत खसेको थियो र ओलीले पाएको मत उक्त निर्वाचनमा देशभरकै सबैभन्दा बढीसमेत हो ।

यतिमात्र नभइ ओलीले उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा २४ अर्ब बजेट विनियोजन गरेका छन् भने ठूलो परिमाणमा चिनियाँ लगानीसमेत भित्रिएको छ । तर, ओलीको गृहनगरमा यसरी सत्तारुढ व्यवसायीले निर्वाचनमा पराजय बेहोर्नुलाई भने आश्चर्यका रुपमा हेरिएको छ ।

अर्थतन्त्रको इन्जिन मानिएको निजी क्षेत्रको छाता संगठनमा यसरी सत्तापक्ष चिप्लिएको घटना दमकमा मात्र पहिलो होइन । हालै भएका निर्वाचन परिणामअनुसार डडेल्धुरा, गुल्मी, नुवाकोट, दोलखा उद्योग वाणिज्य संघमा कांग्रेस निकट व्यवसायीले जित हासिल गरेका छन् ।

दमक उवासंघको आइतबार बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी भए । उनले एक हजार ४११ मत प्राप्त गरेका थिए भने खतिवडाले ९१६ मत प्राप्त गरे ।

प्रकाशित : २२ भाद्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह