Logo

पाइपलाइनमा प्रोटोकलः मोदीले नेपाली राजदूतलाई सँगै राखे, ओलीले किन पछाडि ?




काठमाडौं । नेपाल र भारतबीच बहुचर्चित पेट्रोलियम पाइपलाइन उद्घाटन समारोहमा एउटा गजवको दृश्य देखिन्छ । सामान्यतया प्रोटोकलको चर्चा गरिरहने नेपालीहरुका लागि भने त्यो तस्बिरभित्र लुकेको रहस्यले झस्काउन सक्छ ।

काठमाडौं र नयाँ दिल्लीमा नेपाली र भारतीय प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे र एक अर्काको खुलेरै प्रशंशा गरे । अधिकांश भारतीय लगानीमै बनेको पाइपलाइन भए पनि भारती प्रधानमन्त्री नरेन्द्र मोदीले जति नेपालसँगको मित्रताको प्रशंशा गरे त्यसको तुलनामा नेपालका प्रधानमन्त्री केपी ओलीको प्रस्तुति भने केही फिका नै थियो ।

कुरा यत्तिमै टुंगिँदैन । भारतीय प्रधानमन्त्री मोदीले नेपालका राजदूत निलाम्बर आचार्यलाई आफूसँगै राखेर पाइपलाइन उदघाटन गरे । उनले मित्रताको अगाडि प्रोटोकललाई कुनै महत्व दिएनन्, सम्भवतः मोदीको उदारता र विशेषताका रुपमा यसलाई ब्याख्या गरिएला ।

नेपालका प्रधानमन्त्री ओलीले भने भारतीय राजदूतलाई आफ्नो लहरमा राखेनन् । उनीसँग दुई मन्त्रीहरु मातृका यादव र प्रदीप ज्ञवाली थिए भने भारतीय राजदूत मञ्जीभसिंह पुरी पछाडिको लहरमा थिए । ओलीले प्रोटोकलको ख्याल गरेर राजदूतलाई पछाडिको लहरमा राखेका हुन सक्छन् ।

तस्बिरः भारतीय प्रधानमन्त्रीको ट्वीटबाट

ओलीले भारतीय राजदूत पुरीलाई सँगै राखेको भए पनि नेपालीको राष्ट्रवाद जाग्ने थियो र यहाँ तत्काल टिप्पणी हुनेथियो– सहसचिवस्तरको भारतीय राजदूतले नेपालको कार्यकारी प्रमुखसँग कुम जोडेर बस्न सुहाउँछ ?

हुन त यस्ता बेतुकका राष्ट्रवादी जन्माउने कारखानाका सूत्राधार ओली र उनकै कम्युनिष्ट पार्टीहरु नै हुन् । भारतीय प्रधानमन्त्री मोदीले प्रोटोकलभन्दा मानवीयता र विनम्रतालाई प्राथमिकता दिन्छन् र नै उनी यस क्षेत्रमा सर्वाधिक लोकप्रिय राजनेता कहलिएका छन् ।

यतिमात्र होइन, भारतीय प्रधानमन्त्रीले नेपालीमै ट्वीट गरेर बधाई दिए र मित्रताको प्रशंशा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्