Logo

Banner-news

३२ जिल्लामा आजदेखि टेलिकमको फोरजी, काठमाडौंमा सुरु गरेको ३ वर्षमा बल्ल विस्तार


GDP Nepal
   १५ आश्विन २०७६, बुधबार


काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अन्ततः फोरजी सेवा विस्तार गरेको छ । नेपालमा फोरजी सेवा सुरु गरेको झन्डै ३ वर्षपछि बल्ल टेलिकमले यो सेवा काठमाडौं र पोखराबाहेकका अन्य सहरमा विस्तार गरेको हो ।

टेलिकमले फोरजी÷एलटीई सेवाको नेटवर्क बुधबारदेखि सातवटै प्रदेशका प्रमुख सहरहरूमा विस्तार गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत औपचारिक सुरुवात गर्ने टेलिकमले जनाएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको छ ।

फोरजी/एलटीई सेवाको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियोलगायतका नवीनतम सेवाहरूको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडब्यान्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरू र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछन् ।

विस्तारित फोरजी÷एलटीई सेवा एलटीई एड्भान्सड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ ।

हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी÷एलटीई सेवा हालको मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरूमा सेवा पु¥याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने कम्पनीको दाबी छ ।

टेलिकमले देशमै पहिलो पटक ०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी÷एलटीई सेवाको सुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत ०७५ माघ २० मा तीनवटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।

कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ । सम्झौताअन्तर्गतको कार्य तीव्र गतिमा भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सातै प्रदेशमा फोरजी÷एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्नुहुने ग्राहकहरूका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरूलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शतप्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ ।

यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरूलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइनेछ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

यसैगरी १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको पाँच सय एमबी डाटा प्याकेज फोरजी एलटीईका सेवाग्राहीलाई थप ५ सय एमबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जीबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जीबी डाटासहित प्राप्त हुनेछ ।

तीनवटै डाटा प्याकेजहरू एनटी फोरजी एलटीई अफरका रूपमा कम्पनीका फोरजी ग्राहकहरूले १५ असोज ०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ आश्विन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह