Logo

गैरआवासीय नेपाली संघमा कुमार पन्तः कांग्रेस हार्यो तर गगन थापाले जिते !




काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचत भएका छन् ।

उपाध्यक्षा डा. बद्री केसी, सोनाम लामा, मन केसी, अर्जुनकुमार श्रेष्ठ र रविना थापा निर्वाचित भए भने महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी र आरके शर्मा तथा कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भए ।

अध्यक्षका प्रत्याशी कुल आचार्यलाई कांग्रेसको संस्थागत समर्थन रहेको र निर्वाचनस्थलमै कतिपय कांग्रेस नेता सक्रिय रहे पनि पन्तले बाजी मारे । यसको कारण भने पन्त आचार्यभन्दा संगठनमा पुरानो हुनुमात्र थिएन ।

कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाको समर्थन पन्तलाई थियो । एनआरएनए सामाजिक संस्था भएकाले पार्टीले औपचारिक निर्णय नगर्दा थापा र उनको समूहले खुलेरै पन्तको पक्षमा लबिङ गरेको थियो ।

नेपालबाहिर रहेका नेपालीमाझ कांग्रेसका थापासहित प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल निकै लोकप्रिय छन् । जसमध्ये प्रवक्ता शर्मा कसैको पक्षमा खुलेनन् भने थापा र पौडेलले पन्तलाई समर्थन गरेका थिए ।

एनआरएनभित्रै पनि कांग्रेसका नेता भनेर चिनिएका पूर्वअध्यक्ष जीवा लामिछानेसहित पूर्वउपाध्यक्ष रामेश्वर शाह, सुवाश अधिकारीलगायत महासचिवका उम्मेदवार डा. हेमराज शर्मालगायत पन्तको पक्षमा रहेकाले आचार्य कमजोर बन्न पुगेका हुन् । यद्यपि, मध्यपूर्वबाहेकको भोटमा पन्तभन्दा आचार्य प्रभावशाली देखिएको थियो ।


एनआरएन सामाजिक संस्था भएकाले पार्टीको उम्मेदवारविरुद्ध पन्तलाई काँध थापेको भन्दै नेता गगन थापामाथि अनुशासनको प्रश्न उठाउनसक्ने अवस्था पनि छैन । तर, कुल आचार्यलाई समर्थन गरेका शेष घलेलगायतका लोकतान्त्रिक पृष्ठभूमिका एनआरएनले भने भोलिका दिनमा थापासँग यो निर्वाचनको इगो साँधे भने यसबाट थापालाई राजनीतिक रुपमा क्षति पुग्नसक्छ ।

अध्यक्षमा विजयी गोरखा फुजेलका पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए भने उनी पूर्वअध्यक्ष लामिछानेका व्यावसायिक साझेदारसमेत हुन् ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्