Logo

Banner-news

खोजी रिपोर्टिङले दिएको झुट सन्देश, जसलाई डा. स्वर्णिम वाग्लेले दिए यस्तो जवाफ !


GDP Nepal
   १६ कार्तिक २०७६, शनिबार


काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान बलियो नेपाल सुरू गर्ने अभियन्तामध्येका प्रमुख अर्थात संस्थाका अध्यक्ष डा. स्वर्णिम वाग्लले यस अभियानका सम्बन्धमा मुलुकका केही टाइकुन मिडियाले गरिरहेको दुश्प्रचारको बुँदागत रुपमा खण्डन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस अभियानको विधिवत उद्घाटन गर्नुअघि नै रोक्ने प्रयाशस्वरुप विभिन्न मिडियामा यसविरुद्ध अभियान सुरु भएको थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेले फेसबुकमा यो हल्लैहल्लको देश शीर्षकमा लामो टिप्पणी पोष्ट गरेका छन् ।
प्रस्तुत छ उनको प्रतिक्रिया जस्ताको तस्तैः

**हल्लै हल्लाको देश**
बलियो नेपाल पोषण अभियानको शुभारम्भमा सम्माननीय राष्ट्रपतिज्यूसंग केही कुरा गरियो । धेरैले यो अभियानबारे जिज्ञासा राखेकाले छोटा छोटा एकमुष्ट उत्तर ।

१. पोषण कार्यक्रम अरु नि छन्, यो किन फरक ?
*नेपालमा ५ वर्ष मुनिका ३६% बालबालिका दीर्घ कुपोषणको शिकार छन् । सन् २०३० सम्म त्यो १५% मा झार्ने लक्ष्य छ तर परम्परागत पोषण कार्यक्रमबाट मात्र सम्भव छैन । दिगो विकास लक्ष्य प्राप्तिलाई वार्षिक औसत रु. २० खर्ब लाग्ने, जस मध्ये सरकारले ५७% र निजी क्षेत्रले ३७% लगानी गर्नुपर्नेछ । प्रेरणादायी जनचेतना मार्फत स्वस्थ आहारको माग बढाउने र खाद्य उत्पादनको पोषण गुणस्तर बढाउन निजी र सामुदायिक संस्थासँग एकैपटक काम गर्ने । सहयोग Bill and Melinda Gates Foundation (BMGF) को हुनेछ । यो समयसीमा भएको अनुदानमा आधारित प्रोजेक्ट होइन, सित्तैमा केही नदिने दिगो अभियान हो जुन निरन्तर चलोस् भन्ने ध्येय छ । पछि बलियो ‘लोगो’को प्रयोगबाट संस्थालाई आय पनि आउला । अप्रिल २०१९ देखि यो स्वतन्त्र, गैर-मुनाफामुखी संस्थाको रुपमा दर्ता भएको छ । डेढ-दुई महिनामा एक पटक हुने बोर्ड वैठकको अध्यक्षता गर्छु । संस्थाबारे विस्तृत जानकारी यहाँ छ: baliyonepal.com/

२. ‘पोषण गुणस्तर’ कसरी नाप्ने ?
*अस्ट्रेलियाको Health Star Rating (HSR) मा ३*** भन्दा माथि तोकिएका उत्पादनसंगमात्रै काम गरिनेछ, जस्तै लिटो । पत्रु भनिने प्राय junk food को स्तर १ को हाराहारी भएकोले हामी ती छुँदैनौं । HSR को उद्देश्य sugar, sodium, saturated fat र क्यालोरी घटाउने अनि fiber, protein, फलफुल, तरकारी, गेडागुडीको आहार बढाउने हो ।

३. अर्थशास्त्री मान्छे, किन पोषणमा हात हालेको ?
*योजना आयोगको उपाध्यक्ष हुँदा नेपालको ‘बहु-क्षेत्रगत पोषण योजना, २०१८-२०२२’ तयार गरियो । नेपालमा पर्सी शुरु हुने Scaling Up Nutrition (SUN) को विश्व सम्मेलनको बिउ त्यहीबेला रोपेको हो — ६१ देशका १२०० व्यक्ति आउंदैछन् । मानव संसाधन अर्थशास्त्रमा रुचि पुरानो हो; नोबेल बिजेताहरु शुल्त्ज़, सोलो, हेक्म्यान, बेनर्जीको कामबाट प्रभावित छु । जन्मेदेखि २३ महिनाको अवधिमा गरिने स्वास्थ्य र पोषणको लगानी पछि कैयन गुणा राष्ट्रले GDP वृद्धि मार्फत उठाउने कुरा रोचक शोधको विषय छदैंछ । UN को पांचवटा ‘मानव विकास प्रतिवेदन’मा काम गरियो ।

४. Bill Gates धनी छन्, उनको फाउन्डेसनले तलब पैसा टन्न दिएको होला नि ?
*यो अवैतनिक पद हो । एक पैसापनि तलव, भत्ता र सुविधाका रुपमा लिएको छैन । मेरो नैतिक ब्रह्मास्त्र यही हो । कोहीपनि बोर्ड सदस्य वा सल्लाहकारले पैसा पाउन्नन् । यो स्वस्फूर्त स्वयंसेवाको भावनाबाट प्रेरित राष्ट्रिय अभियान हुनेछ । मैले पैसा लिएको प्रमाण ल्याए, त्यो रकमको दोब्बर तपाईंलाईनै दिन्छु है !

५. पत्रु खानामा पोषक तत्व मिसाउने हल्ला कसरी चल्यो ?
*सन् २०१७ मै BMGF लाई नेपालमा काम गर्न प्रोत्साहन गर्ने उद्योगपति विनोद चौधरीको प्रसिद्धि वाईवाई चाउचाउसंग जोडिएको छ । बलियो नेपाल अभियान शुरु गर्न BMGF ले चौधरी फाउन्डेसनलाई सन् २०१८ (अक्टोबर) मा केही रकम पनि दियो । नेपालमा चाउचाउको खपत व्यापक भएकोले यसैमा पोषक तत्व हाल्न सकिन्छ कि भनेर BMGF ले अध्ययन गरेकोचैं रहेछ । तर स्वाद फेरिने, टोक्न असजिलो र महँगो हुनेभएपछि यो छलफल अघि बढेन रे ।

६. केही नगर्नुभन्दा त्यस्ता खानालाई थप पोषक बनाउँदा राम्रै हुन्थ्यो भन्ने पनि छन् नि ?
*छन्, तर हामी त्यसमा लाग्दैनौं । अरुले गरे वहाँहरुकै मर्जी ।

७. सरकारको कामलाई कसरी सघाएका छौ ?
*बहु-क्षेत्रगत पोषण आयोजना (MSNP-२) को सचिवालय योजना आयोगमा छ । उसले स्वास्थ्य लगायत ५ वटा मन्त्रालयको पोषण सम्बन्धी कामको संयोजन गर्छ । MSNP मा निजी र सामुदायिक क्षेत्रको ठुलो भूमिका उल्लेख छ । हामी राष्ट्रिय र प्रादेशिक योजना आयोगसंग मिलेर काम गर्छौं ।

८. सबै कुरा सुन्दा यो अभियान गज्जब होला जस्तो छ । म कसरी जोडिने ?
*यो भिडिओ हेर्ने: tinyurl.com/y6lzgpjc
*यो पढ्ने: tinyurl.com/y6gegqat
*यो पनि पढ्ने: baliyonepal.com/faq
*अनि हाम्रो सचिवालयमा सम्पर्क गर्ने ! आउनुस, बलियो नेपाल बनाउन सही पोषणमा काम गरौँ । छिट्टै प्रदेश ५ जाँदैछौं लिटो र अण्डा बोकेर ।

प्रकाशित : १६ कार्तिक २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह