Logo

Banner-news

नेपालगञ्जका व्यवसायी भन्छन्– राजधानी बुटवल हुनुभन्दा त बरु काठमाडौं ठिक


GDP Nepal
   २० कार्तिक २०७६, बुधबार


बाँके । नेपालगञ्जका उद्योगी व्यवसायीहरुले प्रदेश राजधानी बुटवललाई बनाइएकोमा तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरुले बुटवल अपायक भएको भन्दै बुटवलभन्दा बरु संघीयताअघिको राजधानी काठमाडौं भएकै ठिक महशुस गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार व्यवसायीहरुले बुटवलप्रति असन्तुष्टि जनाउँदै प्रदेश राजधानी पायक पर्ने स्थानमा हुनुपर्ने माग गरेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा समसामयिक विषयमा छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरू अहिलेको अस्थायी राजधानी बुटवल पायक नपरेको बताएका हुन् ।

यद्यपि, प्रदेश ५ को राजधानीका लागि जोडबल गरिरहेको दाङका पक्षमा पनि व्यवसायी खुलेर प्रस्तुत भएनन् । नेपालगञ्ज उद्योग वाणिज्य सङघका अध्यक्ष नन्दलाल वैश्यले व्यंग्य गर्दै भने– बरु काठमाडौँ राजधानी ठिक थियो, बुटवल त गाह्रो भयो । उनले प्रदेशको स्थायी राजधानी सकेसम्म नेपालगञ्ज नै हुनुपर्छ नभए सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले सबैलाई सहज हुने र सबैको निम्ति सुविधा हुने ठाउँमा प्रदेशको राजधानी तोकिनु पर्ने बताए । आफूले प्रधानमन्त्री र पार्टीका अरु नेताहरुबीचमा कुरा हुँदा पनि सैद्धान्तिक सहमति भएको र अब व्यावहारिक रूप दिनमात्रै बाँकी रहेको बताए पनि कहाँ बनाउने भन्नेमा उनी प्रष्ट भएनन् ।

हिल्सा–जमुनाह रोड ठूलो भइसकेपछि नेपालगञ्ज फेरि एकपटक ठूलो व्यापारिक तथा पर्यटकीय केन्द्र हुनेवाला रहेको भन्दै उनले धेरै चिन्तित हुनुपर्ने स्थिति नेपालगञ्जको नभएको बताए ।

नेपागञ्ज उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष वैश्यले पूर्व प्रधानमन्त्री दाहाललाई नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने, नेपालगञ्जलाई औद्योगिक नगरका रूपमा विकास गर्नुपर्ने, नेपालगञ्जमा प्रदर्शनी केन्द्रको लागि जग्गा उपलब्ध गराउनु पर्ने लगायतका सात बुँदे मागपत्र बुझाएका थिए ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह