Logo

Banner-news

भ्याटमा बहुदरका लागि व्यवसायीको अझै लबिङ !


GDP Nepal
   २९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदरका लागि व्यवसायीहरुले अझै पनि लबिङ जारी राखेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुदरको माग पूरा नहुने भन्दै यसको पक्षमा आवाज उठाएर समय बर्बाद नगर्न व्यवसायीलाई पटकपटक चेतावनी दिए पनि व्यवसायी भने पछि हटेका छैनन् ।

बहुदरको माग गर्नेमा नेपाल समुद्रपार निकासी पैठारी संघ पनि रहेको छ । संघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई भेटी मूल्य अभिवृद्धि करमा बहुदर लागू गर्न सहयोगको आग्रह गरेको छ ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार महानिर्देशक कुँवरलाई भेटेर, भ्याट, आयकर र अन्तःशुल्क क्षेत्रका समस्यामा ध्यानाकर्षण गराए पनि उनीहरुको जोड भने भ्याटको बहुदरमै रह्यो ।

यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने यात्रुलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन पनि उनीहरुले आग्रह गरे । कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेकोतर्फ पनि व्यवसायीले महानिर्देशकको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा महानिर्देशक कुँवरले संघले उठाएका व्यावहारिक मुद्दाहरुलाई सम्बोधन गर्नेतर्फ पहल गर्ने बताए । प्रतिनिधिमण्डलमा संघका महासचिव शिवकुमार अग्रवाल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की तथा कार्यसमिति सदस्यहरु आकाश गोल्छा, गौरव शारडा, विष्णुकुमार जोशी, मदन मित्तल, रामचन्द्र खेतान र प्रभातकुमार सर्राफ सहभागी रहेको महासचिव शिवकुमार अग्रवालले जानकारी दिए ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह