Logo

Banner-news

चीनसहित दक्षिण एसियाकै व्यावसायिक हब बन्ने नेपालको चाहनाः महासंघ अध्यक्ष राणा


GDP Nepal
   २२ मंसिर २०७६, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चीनसहित दक्षिण एसियाकै व्यावसायिक हब हुने नेपालको चाहना पूरा गर्न सहयोगका लागि आग्रह गरेकी छन् ।

शिल्करोड चेम्वर इन्टरनेशनल कमर्सको आयोजनामा शुक्रबारदेखि चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलनलाई सम्बोधन गर्दै राणाले नेपालको सम्भावनाबारे प्रकाश पारिन् ।

चीनले अगाडी सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा सामेल करिब पाँच दर्जनभन्दा बढी देशका सरकारी तथा व्यावसायिक नेताहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त अन्तराष्ट्रिय सम्मेलनमा प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ विषयक विशेष शत्रलाई राणाले सम्बोधन गरिन् ।

नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गर्नुहुंदै अध्यक्ष राणाले चीन तथा समग्र दक्षिण एसियाकै व्यावसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।

आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडी थुप्रै सम्भावना रहेको बताउँंदै अध्यक्ष राणाले बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने स्पष्ट पारिन् ।

यद्यपि नेपाल भुपरिवेष्ठित मुलुक भएपनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको कारण आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरूसंग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एशियाबाट नेपालले फाइदा उठाउन सक्ने दावी गरिन् ।

दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्दै अध्यक्ष राणाले वीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिब ३ अर्ब जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औंल्याए । भौगोलिक विकटता तथा अन्तराष्ट्रिय वजारसम्मको सहज पहुंचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसंग जोडिने सम्भावनाको ढोका खोलिदिएको पनि अध्यक्ष राणाले बताइन् ।

आज पनि नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी चीनबाटै रहेको स्पष्ट पार्दै उनले नेपालमा लगानी गरिरहेका चिनिया कम्पनीहरू सिनो हाइडो, जेटटीई, चाइना थ्री गर्जेज कर्पोरेशन, हुवाये, टिवेट एयरलाइन्स, होङ्गसीले निकै राम्रो व्यवसाय गरीरहेको अन्तराष्ट्रिय समुदाय समक्ष जानकारी गराइन् ।

उर्जा, पूर्वाधार विकास, पर्यटन सहित अन्य सम्भावित क्षेत्रहरूलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रको रूपमा पहिचान गरेको स्पष्ट पार्दै राणाले कृषि, कृषि तथा खाद्य प्रशोधन, प्योकजिंग, पशुपंक्षी, हर्वल उद्योग, चिया तथा कफी, हर्वल उत्पादनहरू, हस्तकला लगायतका क्षेत्रमा पनि लगानीको ठूलो सम्भाव्यता रहेको बताइन् ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तरगतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने समेत उनले स्पष्ट पारिन् ।

पर्याप्त जनशक्ति तथा औद्योगिक विकासका लागि चाहिने आधुनिक प्रविधिको अभावका कारण नेपालले सस्तो श्रम शक्ति र यूवा जनसंख्याको वाहुल्यता रहेपनि अहिलेसम्म पनि अन्तराष्ट्रिय मूल्य श्रृंखलामा जोडिन नसकेको अध्यक्ष राणाले बताइन् ।

सडक, रेल, व्यापार सहजीकरणका लागि आवश्यक अन्य महत्वपूर्ण पूर्वाधार अभावका कारण विश्कै सर्वोत्कृष्ट पर्यटकीय क्षेत्र रहदा रहंदै पनि नेपालले पर्यटन लगायत नेपाली उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारसम्म एकिकृत गर्न नसकेको यथार्थता सो अवसरमा उनले राखिन् ।

बीआरआई अन्तरगत पूर्वाधार विकास जस्तो होटल, एयरपोर्ट, सडक, रेलवे, केवल कार, सपिङ मल लगायतमा लगानी गरी नेपालको पर्यटन विकासबाट चीन सहित र वीआरआई मुलुकहरूले लाभ उठाउन सक्ने बताउँदै नेपालमा व्यापार तथा वैदेशिक लगानीलाई सहज बनाउन चीन तथा बीआरआई मुलुकहरूबाट बैंक शाखाहरू खोल्नु पर्ने सुझाव उनको थियो ।

बीआरआईको भरपुर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नु पर्ने र यसका लागि चीनले उपलव्ध गराउने भनिएका सुख्खा तथा समुद्री वन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्ने सुझाव अध्यक्ष राणाले सो अवसरमा दिनु भयो । ई–कमर्सको भरपुर उपयोगबाट वाह्य संसारले हासिल गरीरहेको लाभमा नेपाललाई पनि जोडन अन्तरसिमा ई–कमर्सलाई बढावा दिनुपर्ने, बीआरआई अन्तरगत अन्तराष्ट्रिय सूचना संजालमा नेपाललाई जोडन सहयोग गर्नुपर्ने,गैर भंसार अवरोधलाई हटाउनु पर्ने, नेपाली निर्यात प्रवद्र्धन गर्न चीनले उपलव्ध गराएको विशेष सहुलियत तथा शून्य भंंसार सुविधाको भरपुर उपयोग गर्नुपर्ने धारणा राखिन् । नेपालको पूर्वाधार विकासमा बीआरआई अन्तरगत शिल्करोड कोष, एशियन पूर्वाधार विकास बैक, चाइना इक्जिम बैकको लगानी आकर्षण तथा उपयोगमा सहयोग गर्न पनि अध्यक्ष राणाले आग्रह गरिन् ।

प्रकाशित : २२ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह