Logo

Banner-news

नेपाल भ्रमण वर्ष २०२० आजदेखि, आउलान् २० लाख पर्यटक ?


GDP Nepal
   १६ पुस २०७६, बुधबार


काठमाडौं । नयाँ वर्ष २०२० को पहिलो दिनसँगै नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भएको छ । ३६५ दिनमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सुरु भएको भ्रमण वर्षको बुधबार औपचारिक शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।

काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ भने अस्वस्थताका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । समारोहमा भाग लिन सार्क मुलुकका केही पर्यटनमन्त्री नेपाल आएका छन् ।

भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

कार्यक्रमअनुसार राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । उदघाटन समारोहको रिहर्सल मंगलबार नै गरिएको थियो ।

ट्राफिक प्रहरीले पनि रंगशाला आसपासका क्षेत्रमा सवारी व्यवस्थापन कठिन हुने भन्दै वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ र २०१९ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेकोे प्रारम्भिक अनुमान छ भने यो लक्ष्य पूरा गर्न झन्डै ७० प्रतिशत वृद्धि हासिल गर्नुपर्छ ।

जानकारहरुका अनुसार भ्रमण वर्षको फितलो तयारी र कमजोर प्रचारप्रसारका कारण २० लाख पर्यटक पुग्ने सम्भावना छैन । यो अवधिमा सरकार र निजी क्षेत्रले जति नै आग्रह गरे पनि १५ लाखभन्दा बढी पर्यटक ल्याउन नसकिने उनीहरु बताउँछन् । तर, अहिलेको प्रचारले आगामी दिनमा २० लाख पुर्याउन सकिने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको भनाइ छ ।

त्यसो त सन् २०११ मा मनाइएको पर्यटन वर्षमा १० लाख पर्यटक ल्याउने भनिए पनि त्यसको सात वषएपछि अर्थात २०१८ मा मात्र त्यो लक्ष्य पूरा भएको थियो भने स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्यांक अद्यावधिक गर्ने हो भने अहिले नै पनि २० लाख पुर्याउन सकिने बताइन्छ ।

जे होस, भ्रमण वर्षमा पर्यटन जागरण भने सिर्जना गर्न भिजिट नेपाल २०२० अभियान सफल भएको छ ।

प्रकाशित : १६ पुस २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह