Logo

बिजनेस होम

श्रम सम्बन्ध सुधारसहितका कार्यक्रमका लागि महासंघ–आईएलओ सम्झौता


GDP Nepal
   ८ माघ २०७६, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यावसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

मंगलबार काठमाडौंमा महासंघका अध्यक्ष अध्यक्ष भवानी राणाले आइएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भइरहेकोमा धन्यवाद दिँदै अब सञ्चालन हुन लागेको नयाँ परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता विकास एवं प्रदेश सरकारसँगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताइन् ।

राणाले परियोजनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा डीएफआइडीलाई धन्यवाद दिँदै महासंघ डीएफआइडीसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको बताइन् ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले यस परियोजनाद्वारा सञ्चालन हुने कार्यक्रमले प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासका साथै प्रदेशस्तरमा सामाजिक संवाद र श्रम सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले यो परियोजनाको कार्यान्वयनबाट व्यवसायिक वातावरण प्रवद्र्धन गर्न सहयोग पुग्ने धारण व्यक्त गरे ।

डीएफआईडी नेपाल प्रतिनिधि रोबर्ट क्लाकले परियोजना सञ्चालनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले डीएफआईडीले नेपालको रोजगारी प्रवद्र्धन सीप विकासका लागि निजी क्षेत्रसँग मिलेर सहकार्य गर्न इच्छुक रहेको बताए ।

आइएलओका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले डीएफआईडीको आर्थिक सहयोगमा प्रदेश २ र प्रदेश ५ लाई लक्षित गरी सञ्चालन हुने कार्यक्रमले व्यवसाय सम्बन्धि ऐन कानूनबारे जानकारी दिन र प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : ८ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह