Logo

बिजनेस होम

‘बाह्रखरी कथा प्रतियोगिता’को दोस्रो संस्करणः नारायण वाग्लेको नेतृत्वमा जुरी !


GDP Nepal
   १० माघ २०७६, शुक्रबार


काठमाडौं । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा बाह्रखरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।

प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ निर्णायक मण्डलमा रहेका छन् ।

नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः १ लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।

‘बाह्रखरी कथा प्रतियोगिता’को दोस्रो संस्करणबारे जानकारी दिन शुक्रबार आयोजित घोषणा सभामा जुरी सदस्य र आयोजक ।

सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्ने जनाइएको छ ।

कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको छ । गत वर्ष मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो भने लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो ।

बाह्रखरी बुक्सका अनुसार कथा नेपाली भाषामा हुनुपर्ने तथा अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहो¥याउन पाइने छैन । यस्तै, कथा अप्रकाशित र अप्रशारित हुनुपर्नेछ भने प्रतियोगिताको नतिजा सार्वजनिक नहुञ्जेल कथा कतै प्रकाशन तथा प्रशारण गर्न पाइने छैन ।

छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रशारण भएको पाइएमा पुरस्कार निलम्बन गरिने जनाएको छ । ‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १५ सय र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने तथा प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्ने जनाइएको छ ।

प्रकाशित : १० माघ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह