Logo

Banner-news

घरायसी विद्युत् महसुल अब प्रतियुनिट ११.५० रुपैयाँ, डेडिकेटेड फिडरको पनि घट्ने !


GDP Nepal
   १४ माघ २०७६, मंगलबार


काठमाडौं । सरकारले घरायसी प्रयोग बढाउन विद्युत महसुल घटाउने भएको छ । नेपालको ऊर्जा खपत बढ्न नसकेपछि विद्युत प्राधिकरणले मूल्य घटाउने रणनीति लिएको हो ।

प्राधिकरणको प्रस्ताव पारित भएमा ४ सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकले अब प्रतियुनिट ११.५० रुपैयाँ मात्र महसुल बुझाए पुग्नेछ । यसअघि यो समूहका ग्राहकलाई प्रतियुनिट १३ रुपैयाँ महसुल थियो ।

बढी विद्युत् खपत गरेमा पहिलाको भन्दा मुल्य घट्ने प्रस्ताव अनुसार यसरी मूल्य समायोजन गरिएको छ । यस्तै, मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई डिमाण्ड शुल्क न्यूनतम ३० रुपैयाँ लिने तर इनर्जी शुल्क भने निःशुल्क हुने भएको छ ।

यो समूहमा इनर्जी शुल्क प्रति युनिट ३ रुपैयाँ छ । १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ८ लाख रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले घरायसी र डेडिकेटेड फिडर लिने ग्राहकको विद्युत् महशुल घटाउने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले विद्युत् नियमन आयोग सक्षम विद्युत् महशुलका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

डेडिकेटेड फिडर लिने ग्राहकले अन्य औद्योगिक ग्राहकले लिनेभन्दा करिब ७५ प्रतिशत बढी रहेकोमा त्यसमा करिब ४२ प्रतिशत घटाइएको छ । अब औद्योगिक ग्राहकको भन्दा १५ प्रतिशत बढी तिरेमा औद्योगिक ग्राहकले डेडिकेटेड फिडर पाउनेछन् । औद्योगिक ग्राहकको भने पहिलाभन्दा करिब १२ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।

प्राधिकरणले खानेपानी तथा यातायाततर्फका ग्राहकलाई पनि केही घटाउने प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार, समग्रमा औद्योगिक ग्राहकको विद्युत् महशुल ८ प्रतिशत बढ्नेछ भने समग्रमा ४ प्रतिशत मात्र बढ्नेछ । विद्युत् प्राधिकरणको निर्णय अनुसार विद्युत् महशुल दर कायम गर्नका लागि विद्युत् नियमन आयोगलाई पठाइने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह