Logo

Banner-news

भारतीय पर्यटकलाई किन भड्काइँदैछ ?


GDP Nepal
   १८ माघ २०७६, शनिबार


काठमाडौं । नेपाली पर्यटन बजारमा सबैभन्दा बढी हिस्सा रहेको भारतीय पर्यटकलाई भड्काउने खेल सुरु भएको छ । पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा नेपाल परिरहे पनि विभिन्न बहानामा उनीहरुलाई रोक्न खोजिएको पाइएको छ ।

सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गर्दा दक्षिणी छिमेकी मुलुक भारतबाट मात्रै २ लाख ९ हजार ६११ पर्यटक भित्रिए । यो कुल पर्यटक आगमनको १८ प्रतिशत हो । अघिल्लो वर्ष समग्र पर्यटक आगमन घट्दा पनि भारतीय पर्यटक घटेनन् ।

सबैभन्दा बढी भारतीय यात्रु ल्याउने जेट एयरले उडान बन्द गर्दा पनि भारतीयहरूको आगमन नघट्नुको धेरै कारणमध्ये एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण पनि थियो । त्यसै पनि छोटो दूरी र सस्तो तथा आकर्षक गन्तव्यका कारण भारतीय पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ ।

नेपालको विविधतायुक्त मौसमका कारण विशाल भारतका पर्यटकका लागि बाह्रै महिना नेपाल भ्रमण उपयुक्त भएकाले नेपाली पर्यटनको दिगो विकासका लागि भारतीय नै मुख्य स्रोत हुन् भन्नेमा द्विविधा छैन ।

तर, पछिल्ला दिनमा भने भारतीय पर्यटकमाथि नेपाली प्रशासनको व्यवहार र केही घटनाका कारण नेपालको ब्रान्डिङ भारतीय पर्यटन बजारमा बिग्रिइरहेको देखिन्छ । यसलाई सुधार गर्न नसके नेपाल भ्रमण वर्ष २०२० मात्र नभइ समग्र पर्यटन बजार नै संकटमा पर्न सक्छ ।

नेपालमा बढी खर्चालु पर्यटकसमेत भारतीय नै हुन् भने विभिन्न धार्मिक तीर्थयात्रीलाई देखाएर घृणा फैलाउने नेपाली प्रवृत्ति पनि नेपालको दिगो पर्यटन विकासका लागि बाधक बनिरहेको छ । यसैले भारतीय पर्यटकलाई नेपालमा सहज वातावरण सिर्जना गरेर पर्यटन क्षेत्रका लक्ष्य हासिल गर्ने वातावरण निर्माणका लागि संघीय सरकारसहित प्रदेश र स्थानीय तह गम्भीर बन्नुपर्छ ।

भारतीय पर्यटक स्थलमार्गको भैरहवा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, वीरगन्ज, विराटनगर र काकरभित्तालगायतका नाका प्रयोग गरी नेपाल भित्रिने गर्दछन् । हवाईमार्गसँगै स्थलमार्गबाट पनि वार्षिक लाखौं भारतीय नेपाल भित्रिन्छन् । तर, स्थलमार्गमा आफ्नै सवारीसाधनमा नेपाल आउने भारतीय पर्यटकलाई नेपाली प्रशासनले पर्यटकको व्यवहार गरेको पाइँदैन ।

आफ्नै सवारी साधनमा आउने पर्यटकलाई झन्झटिलो व्यवस्था तथा दुःख दिने प्रवृत्ति नरोकिने हो भने भोलिका दिनमा यसले पनि आगमन प्रभावित हुनेछ । उनीहरूको मुख्य गन्तव्य लुम्बिनी, पोखरा, चितवन, जनकपुर, मुक्तिनाथ, इलाम, दामन, काठमाडौं नै हो । तर, केही महिनापहिलो पोखरामा भारतीय नम्बरप्लेटका सवारीमाथि लगाइएको प्रतिबन्ध होस् वा नेपाल प्रवेशका लागि अनुमतिका लिन भन्सार पार गरेर आएका गाडीले अनुमतिका लागि यातायात कार्यालय नपुग्दै प्रहरीले समातेर दुःख दिनुजस्ता कारणले समस्या देखिन थालेको छ ।

परमिट नभएको गाडी भन्दै सिधै भन्सार चलान गर्दिनु जस्ता कारणले उनीहरूको यात्रा असहज बन्दै गएको भारतीय सञ्चार माध्यमहरूले समेत उल्लेख गर्न थालेका छन्, जुन नेपाली पर्यटन क्षेत्रका लागि दुर्भाग्यपूर्ण छ । यस्तै, नेपालमा धेरै भारतीय पर्यटकहरूको मुख्य उद्देश्य क्यासिनोमा रमाइलो गर्न आउनु भए पनि उनीहरूले ल्याएका पैसा जफत गरेर वातावरण बिगार्ने काम भइरहेको छ ।

अर्कोतर्फ अघिल्लो साता दामनमा भएको घटनामा आठ भारतीयको दुखद् मृत्युले पनि नेपाली पर्यटन क्षेत्र भारतका लागि असहज बन्दै गएको देखिन्छ । सरकारले यी र यस्ता समस्या बेलैमा सम्बोधन नगर्ने हो भने मुलुकको पर्यटन क्षेत्रका लागि दुर्भाग्य हुनेछ ।

प्रकाशित : १८ माघ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह