Logo

राजनीति

मुक्तक मेलामा तेह्र नारी स्रष्टाका रचना वाचन


GDP Nepal
   १९ माघ २०७६, आइतबार


काठमाडौँ । मुक्तक दिवसका काठमाडौंमा अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक भव्य समारोहका बीच सो मेला समापन भएको हो ।

कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार/चारवटा मुक्तक वाचन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथाचलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्नपाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँकामात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए ।

वि.सं. २०१८÷१९ सालतिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मानयोग्य भएको भन्दै उनले प्रसंशा गरे ।

कार्यक्रमका सांस्कृतिक संस्थानका महाप्रबन्धक राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए ।
कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएकाथिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्तायो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए ।

वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपालमुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसरपारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तकदिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रृङ्खला हो ।

प्रकाशित : १९ माघ २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह