Logo

Banner-news

वर्ल्ड बिजनेस म्यागेजिन सीईओले भन्योः नेपाल भारतभन्दा महँगो


GDP Nepal
   २७ माघ २०७६, सोमबार


जुरिच (एजेन्सी) । नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाइरहँदा एक अन्तर्राष्ट्रिय पत्रिकाले भने नेपाललाई भारतभन्दा महँगो राष्ट्रका रुपमा व्याख्या गरिरहेको पाइएको छ ।

नेपालमा बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुकहरू भारत र पाकिस्तानभन्दा पनि महँगो भएको उक्त म्यागेजिनमा उल्लेख छ । यो मामिलामा भारत १ सय ३० औं र पाकिस्तान १ सय ३२ औं महँगो मुलुक भएका छन् ।

सीईओ वल्र्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो मुलुकमा नेपाल १ सय २२ औं स्थानमा रहेको छ । श्रीलंका १ सय १२ औं महँगो मुलुक भएको छ । विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड रहेको छ । दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् ।

किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगो भएको हो ।

शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क, लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोेरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ । बेलायत २७ औं स्थानमा रहेको छ ।

विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

उनीहरूले महँगो सहरका रूपमा कुख्याती कमाएको न्युयोर्क सहरका आधारमा जीवनयापनको मूल्य तयार पारेका छन् । यो सूचीका आधारमा न्युयोर्कभन्दा स्विट्जरल्यान्ड, नर्वे र आइसल्यान्ड तीन मुलुक मात्रै महँगा देखिएका छन् ।
१२२.४ अंकका साथ स्विट्जरल्यान्ड विश्वकै महँगो मुलुक भएको हो । उसको यो अंक दोस्रो स्थानमा रहेको नर्वेको १०१.४ अंकको तुलनामा धेरै अन्तरले माथि रहेको छ ।

महँगो मुलुकको सूचीमा पहिलो नम्बरमा परेको स्विट्जरल्यान्ड किराना सामग्री र रेस्टुराँको मूल्यमा पनि सबैभन्दा माथि देखिएको छ । स्विट्जरल्यान्ड बिग म्याक सूचीमा पनि महँगो मुलुकका रूपमा रहेको छ । यसले विश्वभरि म्याकडोनाल्डको मूल्य मापन गर्छ ।

एउटा बिग म्याकको मूल्य ६.५० स्वीस फ्र्यांक पर्छ । यो मूल्य विश्वमै अधिक मूल्यको बर्गर भएको इकोनोमिस्टको सूचीले देखाएको छ । स्वीस फ्र्यांक महँगो भएकाले मूल्य पनि उच्च हुन गएको छ ।

सूचीको चौथो स्थानमा जापान रहेको छ । युरोपबाहिर हेर्ने हो भने यो मुलुक सर्वाधिक महँगो रहेको छ । यद्यपि यो मुलुकको अंक आइसल्यान्डको १००.४ को तुलनामा धेरै तल अर्थात् ८३.४ रहेको छ ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ कार्यालय भाडाका लागि विश्वकै महँगो बजार भएको छ । यद्यपि समग्र सूचीमा यो क्षेत्र ११ औं स्थानमा रहेको छ ।

प्रकाशित : २७ माघ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह