Logo

Banner-news

गोल्छाले वरिष्ठ उपाध्यक्षमा किन अघि सारे किशोर प्रधानलाई ?


GDP Nepal
   २ फाल्गुन २०७६, शुक्रबार


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा उभिएसँगै निजी क्षेत्रमा टिकाटिप्पणी सुरु भएको छ ।

विराटनगरमा बिहीबार पूर्वअध्यक्ष पशुपति मुरारकासँगै कार्यकारिणी समितिका प्रभावशाली सदस्य तथा उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठ, अर्का आकांक्षी दिनेश श्रेष्ठलगायत दुई पूर्वअध्यक्ष समेतको उपस्थितिमा गोल्छा प्रधानको पक्षमा खुलेरै प्रस्तुत भए ।

गोल्छा आगामी चैत अन्तिम साता हुने साधारणसभापछिका अध्यक्ष हुन् । उनले आफूपछिको नेतृत्वमा योग्य व्यक्ति आओस् भन्ने चाहना राख्नु पनि अस्वाभाविक होइन । तर, अध्यक्षको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता पनि सँगसँगै आउँछ । यसैले उनको यो भूमिकालाई धेरैले राम्रो मानेका छ्रैनन् ।

विराटनगर घोषणा सभामा गोल्छा, प्रधानसहित अन्य ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीचको प्रतिस्पर्धामा ढकाल नै बलिया मानिएका छन् । भोलिका दिनमा ढकाल निर्वाचित भए भने महासंघमा पुनः स्थायी दुई गुट सिर्जना हुनेछ र यसले कार्यसम्पादनमा असर गर्नेछ । जसका कारण गोल्छाकै नेतृत्वमाथि प्रश्न उठ्ने देखिन्छ ।

अर्कोतर्फ आसन्न अध्यक्ष नै एउटा उम्मेदवारको पक्षमा उभिएपछि निर्वाचनमा प्रभाव त पर्छ नै । तर, अहिलेको अवस्था हेर्दा प्रधानमाथि ढकाल निकै भारी देखिन्छन् । जिल्लानगर, वस्तुगत तथा एशोसिएट र द्विराष्ट्रियको ठूलो हिस्सा ढकालसँगै देखिन्छ । सरकारको उच्च तहसम्म सहज पहुँच, सबै राजनीतिक दलसँग समान व्यवहार र ठूलो व्यावसायिक सञ्जालका कारण ढकाल बलिया उम्मेदवार हुन् ।

गोल्छाले अघि सारेका किशोर प्रधान तीन वर्षअघिको निर्वाचनमा उनीसँगै प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित हुने सुनिश्चित भइसकेर पनि भवानी राणाले गोल्छालाई समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अहिले गोल्छाले सोही गल्तीको पुनरावृत्ति गरेका छन् ।

त्यसो त गोल्छाले महासंघको शुद्धीकरणका लागि भन्दै अघि सारेका प्रधान आफैंमा आजीवन गोल्छा र पशुपति मुरारका समूहको विरुद्धमा प्रस्तुत हुँदै आएका हुन् । उनी गत निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजीत भए पनि प्रमोद श्रेष्ठ प्रकरणपछि जिल्ला नगर उपाध्यक्षमा निर्वाचित भए ।

गोल्छाले भोलिका दिनमा महासंघमा पूर्वअध्यक्ष चण्डीराज ढकालको प्रभाव कम गर्न प्रधानलाई अघि सारेका हुन् भन्ने प्रष्ट छ । तर, जसरी पनि महासंघमा जानैपर्ने, वरिष्ठ उपाध्यक्षमा हारेर पनि उपाध्यक्ष हुनैपर्ने तथा व्यापार व्यवसाय पनि खासै नभएका प्रधानजस्ता पात्रलाई अघि सारेर गोल्छाको उद्देश्य भने पूरा हुने देखिँदैन ।

बरु, यसले नयाँ गुटको जन्म दिएर महासंघलाई थप भताभुंग पार्नेछ ।

प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह