Logo

Banner-news

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको योजना आफूले बनाएको ओलीको दावी


GDP Nepal
   ५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री ओलीले तेस्रो देश पुनर्वासले गर्दा नेपाली भाषी भुटानी शरणार्थीहरुले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् ।

झापाको दमकमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले तेश्रो मुलुक पुर्नावासले शरणार्थीलाई खुशी बनाएको दाबी गरे ।

आफूले तेस्रो देश पुर्नवासको पहल थाल्दा कतिपयले बिरोध गरेको स्मरण गर्दै उनले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताए ।

विभिन्न दाताले दिएको भरमा जीवन चलाउनु पर्ने बाध्यताबाट शरणार्थीहरुले मुक्ति पाएको भन्दै उनले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आपैmं सुुरु गर्न सक्ने अवस्था आउने उनले बताए ।

गृहनगर दमकमै प्रधानमन्त्रीको व्यस्तता

प्रधानमन्त्री ओली आइतबार झापा दमकका विकास निर्माणका योजना शिलान्यास र हस्तान्तरण र उद्घाटनमा व्यस्त रहे । ओलीले सडक डिभिजन अन्तगर्त निर्माण भएका दुई वटा योजनाको उद्घाटन, एउटा सडक शिलान्याससहित दमक नगरपालिकाद्वारा निर्मित नमुना एकीकृत बस्तीको साँचो समुदायलाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले दमक– १ मा नमुना एकीकृत बस्तीको रुपमा निर्माण गरिएका आवास नगरका भूमिहिन तथा विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले दमक –७ की मनमाया भुजेललाई घर हस्तान्तरण गरेका छन् भने बाँकी घर वडा कार्यालयलाई हस्तान्तरणको जिम्मा दिएका छन् । दमक नगरपालिकाले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो ।

बस्तीमा बसोबास गर्ने २३ परिवारकै टुंगो लागिसकेको छ । पहिलो चरणमा २३ परिवारका लागि नमुना बस्ती निर्माण गरिएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जमिन व्यवस्थापन गरी घर निर्माण गरिएको हो । भान्सा कोठासहित चारकोठा रहेका प्रत्येक घरमा शौचालयको व्यवस्था गरिएको छ ।

बस्तीको संरक्षण, सुरक्षा तथा सरसफाइका लागि सोही ठाउँमा बसोबास गर्नेको समिति बनाई जिम्मेवारी प्रदान गर्ने नगरपालिकाले जनाएको छ । बस्तीमा नगरपालिकाले विद्युत् तथा खानेपानी समेत उपलब्ध गराउनेछ । तर त्यसबापतको मासिक शुल्क भने घर पाउनेले बुझाउनुपर्नेछ । विद्युत्, खानेपानी तथा सरसफाइको जिम्मेवारी घर पाउने व्यक्तिको हुनेछ भने उनीहरूले सो घरजग्गा बेचबिखन गर्न पाउने छैनन् । घर पाएबापत कुनै पनि शुल्क नगरपालिकालाई तिर्न नपर्ने समेत नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री ओलीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १ करोड ४० लाख र नगरपालिकाले एक करोड ३० रुपैयाँ र प्रदेश सरकारमार्फत प्राप्त ३१ लाख सशर्त अनुदानको रकमसमेत खर्च गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

नगरपालिकाले निर्माण गरेका घर पाउनका लागि नगरपालिकाले केही मापदण्ड पनि बनाएको छ । नगरप्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र जमिन नभएको परिवार हुन आवश्यक छ । यस्तै, नगरपालिकाले उठाएका दमक– ७ को सुनचाँदी लाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पनि ती घर पाउनेको प्राथमिकतामा राखिएको छ ।

दमक–७ मा ऐलानी जग्गाको संरक्षण गरी अर्को बस्ती निर्माण गर्न तयारी थालिएको दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले बताए । सो वडामा पर्ने गोसलाइनमा रहेको एकै ठाउँको करिब १८ कठ्ठा भन्दा बढी ऐलानी जग्गाको घेराबारा गरेर संरक्षणको काम गरिएको छ । वडाध्यक्ष भीमप्रसाद पौडेलले दमक–७ मा थप नमुना बस्ती निर्माण गर्ने उद्देश्यले तार घेरा गरी जग्गाको संरक्षण गरिएको जनाए ।

दमक–चिसापानी–रवि सडक शिलान्यास
प्रधानमन्त्री ओलीले आइतबार नै दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास गरेका छन् । झापाको दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिने उक्त मार्गमा बन्ने कालोपत्र सडकको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । २०४७ देखि सुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ ।

पहिलो चरणमा ६.२९ किमी कालोपत्र २२ करोड ५९ लाख ६४ हजार ६२७ रुपैयाँ लागतमा बन्ने सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताए । त्यसगरी, दोश्रो चरणको १५.२६ किलोमिटरका लागि ५४ करोड ४४ लाख ८७ हजार ६३९ रुपैयाँ छुट्याएको छ । त्यसैगरी, तेस्रो खण्ड ११.३० किलोमिटर सडक ५९ करोड १५ लाख ३५ हजार ८३४ रुपैयाँ लागतमा बनाइने छ ।

महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताए । प्रधानमन्त्री ओलीले दमक–४ मा कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन समेत गरेका छन् । यो सडक बनेसँग झापा, इलाम र पाँचथरका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रधानमन्त्री ओलीले दमक–३ र मोरङको मिक्लाजुङ् जोड्ने मावा खोलाको पुल र दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडककोसमेत उद्घाटन गरेका छन् । उद्घाटन गरिएका उक्त योजना ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेका थिए । ओलीले उद्घाटन र शिलान्यास पछि दमक–२ को बेलडाँगीमा आयोजित सभालाई सम्बोधन पनि गरे ।

प्रकाशित : ५ फाल्गुन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह