Logo

Banner-news

मातृका यादवको निर्णय लेखराज भट्टले उल्ट्याए, सिमेन्टको परिमार्जित गुणस्तर खारेज


GDP Nepal
   ९ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको एक विवादास्पद निर्णय बहालवाला मन्त्री लेखराज भट्टले उल्ट्याएका छन् । मन्त्री भट्टले सिमेन्टको परिमार्जित गुणस्तर मापदण्ड खारेज गर्ने निर्णय गरेका हुन्, जुन यादवले लागू गरेका थिए ।

भट्ट र यादव दुवै पूर्वमाओवादी खेमाका हुन् । मन्त्रालयका अनुसार ३३ ग्रेडको ओपिसी सिमेन्टको गुणस्तर घटाउने गरी यादवको पालामा भएको निर्णय फागुन २ को मन्त्रिस्तरीय निर्णयबाट खारेज गरिएको हो ।

सिमेन्टको गुणस्तर घटाउने गरी यसअघि भएको निर्णय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टको मन्त्रिस्तरीय निर्णयबाट खारेज भएको मन्त्रालयले जानकारी दिएको छ । गुणस्तरीय सिमेन्ट प्रयोग गर्न पाउने उपभोक्ताको हक विपरित सिमेन्टको गुणस्तर परिमार्जन भएको पाइएपछि त्यसलाई सच्याइएको मन्त्रालयको भनाइ छ ।

अब ३३ ग्रेडको ओपिसी सिमेन्टमा २०५५ जेठ ५ को गुणस्तर परिषद्को निर्णय मान्य हुने छ । नेपाल गुणस्तर परिषद्को ०७६ असार १८ को बैठकले ओपिसी सिमेन्टको गुणस्तर परिमार्जन गर्ने निर्णय गरेको थियो ।

मन्त्री भट्ट र पूर्वमन्त्री यादव

नेपाली सिमेन्ट उद्योगहरुबाट उत्पादन हुने सिमेन्टको गुणस्तरको मापदण्ड दोस्रो पुन परीक्षण गर्ने गरी २०५५ जेठ ५ को निर्णयलाई तत्कालीन मन्त्री यादव अध्यक्ष रहेको गुणस्तर परिषदले परिमार्जन गरेको थियो ।

परिमार्जित गुणस्तर अनुसार ३३ ग्रेडको ओपीसी सिमेन्टमा आईआर (खरानी, धुलो जस्ता सिमेन्टमा मिसिने अघुलनिसिल वस्तु) को मात्रा २ बाट ४ रहने र म्याग्नेसियम (सिमेन्टमा जोडाई कम गर्ने तत्व) को मात्रा ५ बाट ६ बनाउने निर्णय भएको थियो ।

गुणस्तर परिषद्को उक्त बैठकले सिमेन्टको जोडाई (सेटिङ) समय पनि ४५ मिनेटबाट ३० मिनेटमा झार्ने गरी निर्णय गरेको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह