Logo

बिजनेस होम

चरिकोटमा महोत्सव र दोलखा लगानी सम्मेलन !


GDP Nepal
   १४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । पूर्वी पहाडी जिल्ला दोलखामा महोत्सव र लगानी सम्मेलन एकसाथ हुने भएको छ । जिल्लामा लगानीमैत्री वातावरण तयार गर्न र लगानी भित्र्याउनका लागि लगानी सम्मेलन हुने भएको हो । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव र लगानी सम्मेलनका लागि तयारी तीव्र पारिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

दोलखामा जलविद्युत्, पर्यटन, कषि, खानी र वनजन्य क्षेत्रको उद्योगमा लगानी ल्याउन लगानी सम्मेलन गर्न लागेको हो । लगानीकर्ताले तयारी अवस्थामा राखेका कतिपय आयोजनाहरु समेत पूर्वाधार र लगानीका कारण सुरु हुन सकेका छैनन् । लगानीकर्तालाई भित्र्याएर ढुक्कसँग काम गर्ने वातावरण तयार गर्नका लागि लगानी सम्मेलन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।


दोलखा उद्योग वाणिज्य संघले दोलखा महोत्सवको आयोजना गरेको छ । यही फागुन २१ गतेदेखि ३० गतेसम्म महोत्सव आयोजना गरेको छ । महोत्सवको एउटा महत्वपूर्ण पक्षको रुपमा लगानी सम्मेलन गर्न लागेको हो ।

लगानी सम्मेलनका लागि देशका ठूला घरानाका उद्योगपतिहरु, बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि लगायतका लगानीकर्ताहरुलाई आमन्त्रण गरिएको संघका महासचिव हेमराज रिमालले जानकारी दिए । अहिले लगानीकर्ताहरुसँग भेटघाट र छलफलको काम भइरहेकाले सबैको महत्वपूर्ण उपस्थिति हुने उनले बताए ।

“दोलखा जलविद्युत् र पर्यटनका लागि महत्वपूर्ण ठाउँ होे” उनले भने, “एक दर्जन जलविद्युत् आयोजना निर्माणाधिन छन् भने कतिपय आयोजनाबाट विद्युत् उत्पादन भइरहेका छन् ।” केही आयोजना सडक र प्रसारण लाइन जस्ता अत्यावश्यक पूर्वाधार राज्यले तयार नगरिदिँदा अन्यौलमा परेका छन् ।

निर्माणाधिन आयोजनामा पनि स्थानीय स्तरमा काम गर्ने वातावरण नहुने र राज्यका विभिन्न निकायबाट समेत विभिन्न झण्झटले गर्दा लगानीकर्ता अन्यौलतामा परेकाले लगानीमैत्री वातावरण तयार गर्न पनि लगानी सम्मेलन महत्वपूर्ण हुने उनले बताए ।

लगानी सम्मेलनमा लगानीका लागि योजना छनौट गरी प्रस्तुत हुने छन् । पर्यटनको अथाह सम्भावना भएर पनि त्यसमा पूर्वाधार विकास र प्रचार प्रसार हुन सकेको छैन । कृषि क्षेत्रको उत्पादन बढाउन र त्यसलाई उद्यमको रुपमा विकास गर्नका लागि ठूलो लगानी र प्रविधिको आवश्यकता पर्छ । यसका लागि पनि लगानी सम्मेलनले आधार तयार गर्ने छ ।

लगानी सम्मेलनमा जलविद्युत् आयोजना, वर्षौंदेखि अलपत्र म्याग्नेसाइट उद्योग, रोल्वालिङमा पर्वतारोहण विद्यालय, केबलकार, फिल्म सिटी, होटल, राफ्टिङ, चिस्यान केन्द्र, फलफूलको वाइन उद्योग जस्ता आयोजनाहरु पहिचान गरी सम्मेलनमा राखिने छन् ।

केही आयोजनासँग लगानी सम्झौतासमेत गर्ने तयारी रहेको महासचिव रिमालले जानकारी दिए । दोलखाका ९ स्थानीय तहमा कम्तिमा एउटा आयोजना सञ्चालन गर्ने गरी लगानीको क्षेत्र तय हुने छन् । आफ्ना स्थानीय तहमा सञ्चालन हुन सक्ने महत्वपूर्ण आयोजना छनौटका लागि स्थानीय तहलाई आग्रह गरिएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह