Logo

Banner-news

चैतमा कर र कर्जाको ब्याज तिर्ने अवस्था छैन, असारसम्मको सहुलियत दिइयोस्ः महासंघ


GDP Nepal
   १ चैत्र २०७६, शनिबार


काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संकटका कारण व्यवसायमा समस्या आएको भन्दै चैत मसान्तमा बुझाउनुपर्ने कर्जाको साँवा ब्याज तथा सरकारलाई राजस्व बुझाउनसक्ने अवस्था नरहेको जनाएको छ ।

महासंघ स्थायी समितिको शुक्रबार राजधानीमा बसेको बैठकले राजस्व र ब्याज तिर्ने अवधि तीन महिना थप गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ– कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने देखिएको र त्यसको असर नेपालमा समेत पर्न गएको र उद्योग व्यवसाय क्षेत्रमा असर देखिन थालेकाले उद्योगी व्यवसायीले बैंकहरूबाट लिएको ऋणको सांवा व्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधी तीन महिना थप गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

यस्तै, कोरोना भाइरसका कारण सवैभन्दा बढी प्रभावित रहेको पर्यटन उद्योगलाई वाह्रय देशहरूले सहुलियत प्याकेजको घोषणा गरिसकेको सन्दर्भमा नेपाल सरकारबाट पनि नेपाली पर्यटन उद्योगलाई थप क्षति हुनबाट बचाउन सहयोगका आकर्षक प्याकेज ल्याउन आग्रह गर्ने निर्णय पनि महासंघ स्थायी समितिले गरेको छ ।

महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको बैठकले महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न आग्रह गरेको छ । यस्तै, आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।

यसैबीच, विशेष परिस्थितिका कारण भन्दै प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको निर्वाचन भएको एक महिनाभित्र सम्पन्न गर्ने जनाइएको छ । महासंघको साधारणसभा स्थगित गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिएको छैन ।

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह