Logo

Banner-news

लकडाउनका बेला इन्टरनेट खपत अस्वाभाविक बढ्यो, अति आवश्यकीय एपमात्र चलाऔं


GDP Nepal
   १२ चैत्र २०७६, बुधबार


काठमाडौं । लकडाउनका बेला आम उपभोक्ताले समय कटाउन इन्टरनेटको सहारा लिन थालेसँगै सेवा प्रदायकहरुलाई हम्मे परिरहेको छ । दूरसञ्चार प्राधिकरणले नै यो बेला इन्टरनेट खपत अस्वाभाविक रुपमा बढेको भन्दै अति आवश्यकीय एपमात्र चलाउन आग्रह गरेको छ ।

प्राधिकरणले धेरै ब्यान्डविथ खपत हुने एप्लिकेसनहरू अर्थात ब्यान्डविथ हङ्ग्री एप प्रयोग नगरी सूचना प्राप्तिका लागि प्रयोग हुने एप्सहरूमात्र प्रयोग गर्न हामीले आग्रह गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

अत्यधिक मात्रामा त्यस्ता एपहरू प्रयोग भएमा हालको क्षमताले धान्नसक्ने अवस्था नरहेको र अहिलेको जटिल परिस्थितिमा समस्या सिर्जना गर्नसक्ने प्रवक्ता अर्याल बताउँछन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको अनुभवमा यतिबेला युट्युब, फेसबुक, ट्वीटर, भाइबर, इमो तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको प्रयोग सेवाग्राहीले बढी गर्ने गरेको पाइन्छ ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टका अनुसार हाल इन्टरनेटको ब्यान्डविथ २५ देखि ३० प्रतिशतले बढेको छ । चाप बढेसँगै सेवा प्रवाहका लागि सरकारले नेटवर्क मर्मतका लागि अनुमति दिएको र मर्मत कार्य जारी राखिएको उनले बताए ।

मुलुकमा कुल इन्टरनेट खपतको ८० प्रतिशत ब्यान्डविथ आइएसपीबाटै खर्च हुन्छ भने बाँकी दूरसञ्चार कम्पनीहरूमार्फत खपत हुन्छ । उनका अनुसार यससँगै कम्पनीहरूले ग्राहक सेवा केन्द्र खुला राखेर सेवामा कुनै कमी हुन दिएका छैनन् । यही अवधिमा शुल्क भुक्तानी गर्नुपर्ने अवस्था रहे पनि ग्राहकको अनुरोधका आधारमा नवीकरण गरिने र सेवा अवरुद्ध नगरिने उनले जानकारी दिए ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह