Logo

सरकारको अकर्मण्यताविरुद्ध ४० नागरिकको अपीलः प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ !




काठमाडौं । मुलुकका ४० नागरिकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पदबाट राजीनामा दिन र आफ्नो पद र सत्ताको फोहोरी खेल सरकारबाट हटेर खेल्न माग गरेका छन् ।

उनीहरुले संविधानको मर्म, लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्दै सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार लगायतका विभिन्न विसंगति सार्वजनिक भइसकेकाले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

लोकतान्त्रिक व्यवस्थामा जनताको हित नै सर्वोपरी ठानेर काम गर्नुपर्ने बेलामा सरकारमा बस्नेहरुले महामारीलाई समेत भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक भएको ति ४० नागकरिकद्वारा जारी अपिलमा उल्लेख छ ।

स्वदेश तथा विदेशमा रहेका आम नेपाली नागरिकहरुको नामबाट ४० जनाले जारी गरेको अपीलमा सरकारले गर्न नसकेको कामका बारेमा कडा प्रहार गरिएको छ ।

स्वदेश तथा विदेशमा रहेका आम नेपाली नागरिकहरुको अपील

विगत केही महिनादेखि कोभिड १९ को महामारीबाट नेपाल लगायत विश्व नै आतंकित छ । महामारीका कारण कष्टकर अवस्थामा स्वदेश र विदेशमा रहेका सबै नेपाली आम नागरिककोतर्फबाट हामीले यो अपील जारी गरेका छौं ।

विश्व स्वाथ्य संगठनले घोषणा गरेको कोभिड १९ को विश्वव्यापी महामारीको अवस्थामा जनताको न्युनतम आवश्यकता र स्वास्थ्य सेवामा जोड दिनु हरेक लोकतान्त्रिक सरकारको जिम्मेवारी र कर्तव्य हो । तर, वर्तमान सरकार लकडाउनको अवस्थाको दुरुपयोग गरी सांसद अपहरण र भ्रष्टाचारमा लिप्त छ । संविधानको मर्म, लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गर्दै सरकारकै संलग्नतामा सांसद अपहरण र स्वास्थ्य सामाग्री खरिदमा करोडौं भ्रष्टाचार भएको कुरा कसैबाट छिपेको छैन ।

लोकतान्त्रिक व्यवस्थामा जनताको हित नै सर्वोपरी ठानेर काम गर्नुपर्ने बेलामा सरकारमा बस्नेहरुले महामारीलाई समेत भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक छ । हामी स्वास्थ्य सामाग्री भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही अगाडि बढाउन जोडदार माग गर्दछौं ।

सामाजिक सन्जालमा सरकारको आलोचना गरेकै आधारमा मुद्दा चलाउने, संचार माध्यममा अन्तरवार्ता लिएको कारण स्पष्टीकरण सोध्ने र कारवाही चलाउने सरकारको कदमको पनि हामी निन्दा र भर्त्सना गर्दछौं । सरकार र सरकारमा रहेका व्यक्तिहरुलाई गाली गरेको निहुमा आफ्ना विरोधमा आवाज उठाउनेलाई कानुनको गलत प्रयोग गर्दै साइबर क्राइममा मुद्दा चलाउने प्रवृत्तिले संविधानले प्रत्याभुत गरेको व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।

नागरिकले खान नपाएर भोकै,नाङ्गै रूवाबासी गर्दा, कलिला सन्तान च्यापेर खालीखुट्टा सयौं किलोमिटर हिंडेर घर फर्किरहेका समाचारहरु निरन्तर आइरहककंदा पनि सरकार मुकदर्सक बनेर बसेको र सरकारी राहत केबल घोषणामा सिमित रहेको छ । सिमामा रहेका हजारौं नेपाली नागरिक आफ्नै मुलुक फर्कन पाएका छैनन् । यस्तो अवस्थामा नागरिकको उद्दार र राहतमा लाग्नु पर्ने सरकार सत्ता र शक्तिको लडाईंमा लागेको छ । जनाताको आर्थिक–सामाजिक जीवन अस्तव्यस्त भएको संकटको बेलामा देखाएको यस्तो असंवेदनशील व्यवहारको जति भत्र्सना गरेपनि कम हुन्छ ।

नेपालको जनसंख्याको ठूलो हिस्सा विदेशमा रहेको छ । नेपालभित्रै रहेका जनताको बारेमा नसोचेको सरकारले विदेशमा रहेको यो जनसंख्याको बारेमा सोच्ला भनेर आशा गर्नु झनै हाँस्यास्पद हुन्छ । विदेशमा रहेका हजारौं नागरिकले रोजगारी गुमाएका छन् । तर अर्थतन्त्रको ठूलो हिस्सा रेमिटेन्सले धानेको देख्दादेख्दै पनि उनीहरुका बारे कुनै योजना नहुनु झन् पीडादायी छ ।

नागरिकका न्युनतम आवश्यकतातर्फ अ‘ांखा चिम्लेर संविधानको मर्म विपरित अन्य पार्टी फुटाउने र संवैधानिक नियुक्तिमा एकलौटी नियुक्ति गर्ने हिसाबमा अध्यादेश जारी गर्नुले यो सरकारको प्राथमिकता स्पष्ट पारेको छ ।

सरकारले यो विपदको समयमा निर्धारण गरेका प्राथमिकतालाई हेर्दा वर्तमान सरकारले यो विपत्तिबाट पार लगाउन सक्दैन । महाव्याधीबाट छुटकारा पाउनको लागि कुनै योजना बनाउन नसकेको यस अवस्थामा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पदबाट राजीनामा दिन र आफ्नो पद र सत्ताको फोहोरी खेल सरकारबाट हटेर खेल्न हामी जोडदार माग गर्दछौं ।

महिनादिनभन्दा लामोसमयसम्म गरिएको लकडाउनले काम गरेर छाक टार्नुपर्ने जनताको जीवन दिनप्रतिदिन खराब बन्दै गएको अवस्थामा कोरोना संक्रमण नभएका वा कम भएका ठाउँमा लकडाउनलाई खुकुलो पार्दै मानिसको जनजीवन सहज बनाउनेतिर सरकारको ध्यानाकर्षण गराउँदछौं ।

र अन्त्यमा, यो संकटको घडीमा पनि उच्च मानवीय भावना साथ आफ्नो कार्यमा खटिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सुचनाकर्मीहरुमा हामी हार्दिक धन्यवाद र उच्च सम्मान प्रकट गर्दछौं ।

हस्ताक्षरकर्ताः

नेपालडायरी, विश्वदीप लामिछाने, राजेश लुइँटेल, विनोद खतिवडा, घिमिरे संसार, रोमन भट्टराई, रामराज शर्मा, सरोज चापागाईं, उमेश सत्याल, रामहरि पौडेल, केशव शर्मा , अमृत पौडेल, राविश शर्मा प्याकुरेल, प्रकाश भट्टराई, ल्हेन्डुप दोर्जे, विद्युत लामिछाने, मुक्ति अर्याल, विक्रम खतिवडा, नारायण काफ्ले, आस्था शर्मा, तारा गौतम, सुरज रायमाझी, किरण खड्का, तेज ब. लामा, लव खड्का, रामहरि न्यौपाने, पर्शुराम कार्की, खिमलाल पन्थी, सगेन्द्र राई, दिपक शर्मा, सृजन अधिकारी, सुशील कार्की, सञ्जय भण्डारी, पवन गौतम, गीतश्री पहारी, प्रमित लिबाङ्गी, धिरज कोइराला, रामशरण चौलागाईं , पि आर बराल, धोनु थापा ।

हस्ताक्षरका लागि इलेक्ट्रोनिक माध्यमद्वारा सहमति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्