Logo

Banner-news

अपहरण आरोपी सर्वेन्द्र–किसान कनेक्सनः टेन्डर नै नगरी म्याट्रेस खरिद, करोडौं घोटाला


GDP Nepal
   २२ बैशाख २०७७, सोमबार


काठमाडौं । संघीय समाजवादी फोरमका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा मुछिएका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) बीच पहिलेदेखि नै साँठगाँठ रहेको खुलेको छ ।

खनाल र श्रेष्ठको मिलेमतोमा प्रहरीका लागि म्याट्रेस खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरी करोडौं रुपैयाँ अनियमितता गरेको पाइएको छ । खनालले पनि टेलिभिजन अन्तर्वार्तामा किसान आफ्नो गाउँ (तनहुँ)को नजिकैको रहेकाले भाइजस्तै माया गर्ने खुलासा गरिसकेका छन् ।

घटनाअनुसार नेपाल प्रहरीले सातवटै प्रदेशमा ५ हजारका दरले ३५ हजार थान कोयर म्याट्रेश बनाउने जिम्मा विवादास्पद सांसद कृष्णकुमार श्रेष्ठ (किसान)लाई दिएको खुलासा भएको छ ।

तत्कालीन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले म्याट्रेश खरिदका लागि बोलपत्र आह्वानसमेत नगरी स्वेच्छिक ढंगले १५ करोड रुपैयाँ बराबरको म्याट्रेश खरिदका लागि अनुमति दिएका थिए ।

खनाल प्रहरी प्रमुख रहँदा नेपाल प्रहरीका लागि ३५ हजार थान कोयर म्याट्रेश उत्पादन गर्ने अनुमति सांसद श्रेष्ठलाई दिइएको थियो । नेपालमा हाल १५÷२० वटा गुणस्तरीय म्याट्रेस उत्पादन गर्ने कम्पनीहरु रहे पनि शक्तिको आड तथा आईजीपीसँगको कनेक्सनका कारण झण्डै १५ करोड मूल्य बराबरको कोयर म्याट्रेश बनाउने जिम्मा सांसद श्रेष्ठले पाएका थिए ।

श्रेष्ठले कमशल कच्चा पदार्थ प्रयोग गरी म्याट्रेश बनाउने र उनले उत्पादन गरेका म्याटे«शको टिकाउपन कम हुने तथा छ महिनाभित्र अर्काे कोयर म्याट्रेश किन्नुपर्ने अवस्था रहेको जानकारहरु बताउँछन् । तर नेपाल प्रहरीले विशिष्टता तोकेर नै गुणस्तरीय मापदण्ड, त्यस म्याट्रेशमा प्रयोग गरिने कच्चा पदार्थको नाम नै किटेर जारी गर्नुले गुणस्तरहीन वस्तु उत्पादन गर्ने र यसले भ्रष्टाचारलाई प्रश्रय दिएको एक उत्पादकले बताएका छन् ।

आज मुलुकभरमा दर्जनभन्दा बढी गुणस्तरीय म्याट्रेश उत्पादन गर्ने कम्पनीहरु रहेका छन् । तर नेपाल प्रहरीले माग गर्दा सांसद कृष्णकुमार श्रेष्ठकै कम्पनीले मात्र गर्नसक्ने गरी विशिष्टता जारी गर्नुले ठूलो रकमको चलखेल भएको देखिन्छ ।

श्रेष्ठले पदीय मर्यादाको दुरुपयोग गर्दै शक्तिको आडमा चार महिना अगाडि सेनाको म्याट्रेश खरिद प्रकरणमा अरु नै व्यवसायीलाई परेको ठेक्का रद्द गरी आफूलाई पार्न सफल भएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल प्रहरीले उक्त म्याट्रेश उत्पादनका लागि राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गर्नुको सट्टा सात वटै प्रदेशका डिआइजीहरुलाई तल उल्लेखित विवरण मात्र पठाउने गरेको र त्यसैलाई नै आधिकारिकरुपमा प्रयोग गर्नु भनि निर्देशन दिएको प्रहरीले बताएका छन् ।

यस विषयमा जानकारी माग्दा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुले आफूहरुलाई जानकारी नभएको र यदी कानुनविपरित स्वेच्छिकक ढंगले खरिद प्रक्रियालाई अगाडि बढाइएको भए बदर गर्नेसम्म उनीहरुले बताएका छन् ।

यस्तो छ प्रहरीलाई हाल बनाउन दिएको कोयर म्याट्रेशको विवरण
७० प्रतिशत कोयर र ३० प्रतिशत लो मेल्ट फाइबर प्रयोग गर्नुपर्ने भनी उल्लेख गरिएको छ । यसरी बनाइएका म्याट्रेश छ महिना टिक्न पनि मुश्किल पर्ने खालको हुन्छ ।

यस्तो म्याट्रेस एक पटक दबाएपछि अर्थात् बसिसकेपछि माथि नउठ्ने हुन्छ । यसका कच्चापदार्थ पेट्रोलियम बाइ प्रोडक्ट हुन् । जुन स्वास्थ्यका लागि हानिकारक समेत रहन्छ । सुत्नका लागि यो त्यति आरामदायी नहुने म्याट्रेश उत्पादकहरुले बताएका छन् ।

गुणस्तरीयतालाई ध्यानै नदिई एउटा कम्पनीलाई पोस्ने हिसाबले स्पेशिफिकेशन तोकिनु नै गलत रहेको जानकारहरु बताउँछन् । त्यसमा करोडौंको भ्रष्टाचार भएको छ । त्यसलाई खारेज गरेर सबै कम्पनीले टेण्डरमा सहभागी हुन पाउनुपर्ने वातावरण बन्नुपर्ने अन्य उत्पादकहरुको भनाइ छ ।

प्रहरीले विशिष्टतामा उल्लेख गरे बमोजिम पाँच वर्षसम्म टिकाउ रहने भनिएको छ । ७० प्रतिशत कोयर र ३० प्रतिशत लो मेल्ट जस्ता कच्चा पदार्थ प्रयोग गरी बनाइएका म्याट्रेश छ महिना पनि टिक्न नसक्ने हुन्छ ।

यता सांसद श्रेष्ठले विगतमा नेपाली सेनाको हकमा पनि विभिन्न हतकण्डा अपनाएर आफूलाई टेन्डर पार्न सफल भएतापनि माग बमोजिमको म्याट्रेश दिन अझै सकिरहेका छैनन् ।

यस्तो छ म्याट्रेसको कोटेशन

गुणस्तरीय कोयर म्याट्रेशमा हुनुपर्ने गुण
गुणस्तरीय कोयर म्याटे«श रबराइज्ड हुनुपर्छ । अर्थात् नरिवलको जटाबाट बनेको हुनुपर्छ । त्यसको बीचमा इपी फर्म हुनुपर्छ । यसरी प्रयोग गरी बनाइएका म्याटे«शको टिकाउपन सात÷आठ वर्षको रहने हुन्छ । यो स्वस्थकर रहन्छ । नखुम्चने र दबेपछि माथि उठ्ने खालको हुन्छ । यस्तो म्याट्रेश उत्पादन गर्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय प्रविधि अपनाउनुपर्ने हुन्छ । यसरी बनाइएका कोयर म्याट्रेश बढी टिकाउ, स्वस्थकर रहने हुन्छ ।

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह