Logo

Banner-news

तीन वर्षमा बन्यो अन्नपूर्ण केबलकारः लकडाउन खुलेको चार हप्तामै सञ्चालनमा !


GDP Nepal
   २९ बैशाख २०७७, सोमबार


पोखरा । डेढ वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको पोखरास्थित अन्नपूर्ण केबलकार करिब तीन वर्षमा सम्पन्न हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी पोखराको सेतीबगरदेखि सराङकोटसम्म निर्माण हँुदै गरेको यो केबलकारको लम्बाई २२७५ मिटर रहेको छ ।

अन्नपूर्ण केबलकार प्रालिको लगानीमा मनकामना केबलकारको प्रवद्र्धक चितवन कोइले निर्माण गरिरहेको अन्नपूर्ण केबलकारको निर्माणकार्य ९५ प्रतिशत सकिएको अध्यक्ष कालु गुरुङले जानकारी दिएका छन् ।

अध्यक्ष गुरुङका अनुसार २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा (गोन्डोला) सहित तार जडान र फिनिसिङको काम बाँकी छ भने अन्य भौतिक संरचना निर्माणकार्य सकिएको छ । उक्त केबलकारमा केही समय पछि पुनः ४ वटा डिब्बा थप गरिने अध्यक्ष गुरुङले जनाए ।

केबलकारमा काम गर्ने दक्ष जनशक्ति अभावले हामीलाई दुईजना विदेशी कामदार केही दिनका लागि आवश्यक छ, जापानबाट दुईजना दक्ष प्राविधिक आएको ४ हप्तामा केबलकार सञ्चालन गर्न सकिने उनले बताए । लकडाउन खोलेको ४ हप्तामा केबलकार सञ्चालन हुने अध्यक्ष गुरुङले दाबी गरे ।

उनका अनुसार पहिलो एक महिना भने केबलकारको परीक्षण हुनेछ । अबको एक महिनामा लकडाउन खुल्ला भएको अवस्थामा पनि आफूहरूले तीन महिनामा व्यावसायिक रुपमा केबलकार सञ्चालन गर्नसक्ने अध्यक्ष गुरुङले दाबी गरे ।

डेढ वर्षमा निर्माणकार्य सकिने भनी केबलकारको शिलान्यास गरिए पनि प्राविधिक कारणवश ३ वर्षभन्दा बढी समय बित्दै जाँदा उक्त परियोजनाको लागत मूल्य बढ्ने भएको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार उक्त प्रोजेक्टमा एक अर्ब ५० करोडको लगानी हुने भएको छ । उक्त प्रोजेक्ट सुरुको क्रममा एक अर्बमा पूरा गर्ने बताइएको थियो । तल्लो तथा माथिल्लो स्टेसनसहित रेस्टुराँ, पार्किङ, कफी सप, गार्डेनसहितको संरचना निर्माण भएसँगै सजावट तथा फिनिसिङको काम भइरहेको अध्यक्ष गुरुङले जनाए ।

कोरोना भाइरसका कारण देशमा लकडाउन हुनाले पनि आफूहरूलाई थप आर्थिक भार पर्न गएको उनको भनाइ छ । उक्त परियोजना नेपाल राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा अघि बढेको बताएका अध्यक्ष गुरुङले अन्य केही बैंकले ऋण सहयोग गरेको बताए ।

उक्त परियोजना केही वर्षमै पब्लिक लिमिटेडमा लगेर नाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने आफूहरूको दीर्घकालीन योजना रहेको अध्यक्ष गुरुङले बताए । उक्त परियोजनामा ३० रोपनी क्षेत्रफलमा स्टेसनसहितको संरचना निर्माण भएको छ भने २५ रोपनी क्षेत्रफल तारमुनि परेको छ ।

आफूहरूको योजनाअनुसार केबलकार नाफामा जानका लागि प्रतिघण्टा ५ सय जना यात्रु बोक्नु पर्ने अवस्था रहेको अध्यक्ष गुरुङले जनाए । परियोजनामा हाल ५० जना मजदुरले काम गरिरहेका छन् । लकडाउन सुरु भएको सुरुको दुई हप्ता काम रोकिए पनि निर्माणकार्य जारी छ ।

एउटा डिब्बा सामान बोक्नका लागि र बाँकी १७ वटा यात्रुका लागि प्रयोग हुनेछ । उक्त केबलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षमताको रहेको प्रालिले जनाएको छ ।

केबलकारमा युवा व्यवसायी कालु गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकार जस्तै भए पनि यो केबलकारमा नयाँ प्रविधि प्रयोग गरिने अध्यक्ष गुरुङले बताउँदै आएका छन् ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह