Logo

Banner-news

कालीमाटीमा कोरोना परीक्षण, तीन जनामा आरडीटी पोजेटिभ देखिएपछि उपत्यकामा त्रास


GDP Nepal
   २ जेष्ठ २०७७, शुक्रबार


भुवन थापा/काठमाडौं
काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा बिहीबार गरेको कोरोनाभाइरस परीक्षणमा तीन जना व्यापारी तथा मजदुरमा भाइरस पोजेटिभ देखिएसँगै उपत्यकामा त्रास फैलिएको छ । काठमाडौं उपत्यकाभर तरकारी आपूर्ति गर्दै आएको मुख्य बजारमै यसरी कोरोना संक्रमण देखिएपछि यसबाट सर्वसाधारण उपभोक्तासम्म विस्तार हुने आशंका गरिएको छ ।

यद्यपि, कालिमाटीमा कोरोना पोजेटिभ देखिएको भने आरडीटी परीक्षणमा हो । उनीहरुको नमूना पीसीआरमा पुनः परीक्षण गरिनेछ । पीसीआरमा पनि कोरोनाभाइरस पोजेटिभ नै देखियो भने स्थिति निकै गम्भीर हुने र कन्ट्याक्ट ट्रेसिङ पनि असम्भव हुने देखिन्छ ।

कालिमाटीको तरकारीसँगै भाइरस पनि उपभोक्ताको भान्सासम्म फैलियो भने हजारौं गृहिणी र परिवार संक्रमित हुनसक्ने जोखिम रहेको सरोकारवालाहरु बताउँछन् । तरकारी बजारमा भएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएको समाचारसँगै उपत्यकावासी त्रसित भएका छन् ।

महानगरले कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।

महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो । बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए÷ नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए भने त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसीआर परीक्षण गराइन् ।

महानगर प्रमुख शाक्यका अनुसार उपत्यकामा संक्रमित व्यक्तिहरु देखिन थालेको र यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशंकति बनाएकाले यो आशंकालाई निवारण गर्ने परीक्षण सुरु गएिको हो । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गरिने उनले जानकारी दिए ।

उपप्रमुख खड्गी श्रेष्ठले भनिन्– अहिले जसलाई भेटे पनि शंका गर्नुपर्ने अवस्था छ । यो शंका हटाउन पनि जनप्रतिनिधिले परीक्षण गराउनुपर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पु¥याउँछौँ ।

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखाका प्रमुख डा अमृत पोखरेलका अनुसार कम जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडिटी र जोखिममा रहेका ३० प्रतिशतको पिसीआर परीक्षण गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ ।

तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । कामपाले आज बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह