Logo

Banner-news

प्रधानमन्त्रीलाई भारतले हटाउन खोजेकै हो कि सत्ता जोगाउन उनको फन्डा ?


GDP Nepal
   १५ असार २०७७, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामान्य कुटनीतिक मर्यादासमेत बिर्सेर आफूलाई पदबाट हटाउन भारतले चलखेल गरेको टिप्पणी गरेपछि राजनीतिक विश्लेषकदेखि चिया पसलसम्म यसको चर्चा सुरु भएको छ ।

नाकाबन्दीका बेला भारतसँग नझुकेकै कारण दोस्रोपटक अभूतपूर्व बहुमतसहित प्रधानमन्त्रीको कुर्सीमा उक्लने मौका पाएका ओली त्यसयता भने एकपछि अर्को घटनाका कारण बदनाम मात्रै छन् । पार्टीभित्रको आन्तरिक राजनीति व्यवस्थापनदेखि मुलुकका समसामयिक समस्या समाधानमा उनी असफल हुँदै गएका छन् ।

सत्ताबाहिर रहँदा भारतको चर्को आलोचना गर्ने आम कम्युनिष्ट चरित्र हो भने सत्तामा रहँदा भारतको गुलामी गर्ने अर्को तस्बिर रहे पनि प्रधानमन्त्री ओलीले भने सत्तामा रहनकै लागि इन्डिया कार्ड फ्याँकेको विश्लेषकहरु बताउँछन् ।

यसले उनलाई क्षणिक लाभ भए पनि मुलुकलाई भने ठूलो घाटा पुग्ने देखिन्छ । किनकी अहिलेसम्म ओलीलाई पदबाट हटाउन भारतीय पक्षको चलखेल भइरहेको भन्ने दावीमा सत्यता देखिँदैन ।

कतिपय राजनीतिशास्त्रीले प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन विभिन्न प्रयासहरू भइरहेको भनेर सार्वजनिक रूपमा दावी गर्दै त्यसको प्रतिवाद गर्न खोज्नु अहिलेको विषम परिस्थितिलाई आफ्नो पक्षमा पार्ने उनको प्रयासका रूपमा बुझेका छन् ।
कोरोनाभाइरस महामारी नियन्त्रणदेखि विभिन्न अनियमिततासम्मका विषयमा प्रधानमन्त्री ओली निकटहरु नै मुछिएको र सरकारको अकर्मण्यता ढाकछोप गर्न नसकेपछि बेसार प्रवचनमा सरकार अलमलिएकोमा नागरिकस्तरबाट समेत आलोचना हुँदै आएको छ ।

पार्टीभित्र अल्पमतमा परेपछि अनेक प्रयास गरे पनि समीकरण फेर्न नसकेपछि प्रधानमन्त्रीले आत्मविश्वास गुमाउँदै गएका छन् । नयाँ नक्सासम्बन्धी प्रकरणले ओलीको वाह्य छविमा केही सुधार आए पनि त्यो धेरै दिन टिक्न सकेन । भारतले नेपालसँग वार्ता गर्ने सम्भावना नरहेको परराष्ट्रमन्त्रीले नै स्वीकार गरेसँगै भूमि फिर्ता ल्याउने सम्भावना कम हुँदै गएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रण तथा सरकारका कामको प्रभावकारितालाई लिएर पार्टीको स्थायी कमिटीमा ओलीको आलोचना भइरहेको छ । आलोचना छल्न उनी बैठकमै नजानेसम्मका काम गरिरहेका छन् ।

यसरी हेर्दा ओलीले नेपाली जनताको भारतविरोधी भावनालाई उपयोग गरेर सत्ता लम्ब्याउन खोजेको देखिन्छ भने उनको सरकार ढाल्न हालसम्म भारतको कुनै भूमिका देखिएको छैन ।

प्रकाशित : १५ असार २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह