Logo

Banner-news

कर उठाउनकै लागि लकडाउन खोलियो, सरकारलाई जनस्वास्थ्यभन्दा राजस्वकै चिन्ता ?


GDP Nepal
   ७ श्रावण २०७७, बुधबार


काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि आधारभूत सेवा भने अझै ठप्प छन् । कोरोना संक्रमण रोक्न चैत ११ देखि लगाइएको लकडाउन १२० औं दिनमा मंगलबार रातिदेखि अन्त्य भएको घोषणा गरिएको छ ।

तर, लकडाउन हटे पनि आधारभूत क्षेत्रमा भने यसअघिको प्रतिबन्ध कायम नै छ । सर्वोच्च अदालतले लकडाउन नहटेसम्म कर उठाउन नमिल्ने आदेश गरेसँगै परिबन्दमा परेको सरकारले कर उठाउनकै लागि लकडाउन अन्त्यको घोषणा गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको यो निर्णय सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार नै सार्वजनिक गरे । तर, लकडाउन खुलेको संकेत गर्ने सार्वजनिक बस र हवाई सेवा भने भदौ १ अर्थात तीन साताभन्दा बढी समयपछि खुल्ने घोषणा गरेर साउन ६ अर्थात २५ दिनअघि नै लकडाउन खुलेको घोषणा गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडा

सरकारको निर्णय हेर्दा जनस्वास्थ्यको चिन्ता अथवा बजार खुलाउनेभन्दा पनि कर संकलनको उद्देश्यमात्र देखिन्छ । आम व्यवसायी र सरोकारवालाको टिप्पणी पनि सरकारले कर उठाउनमात्र यस्तो निर्णय गरेको भन्ने नै देखिन्छ ।

सरकारको निर्णयपछि उद्यमी राजेशबाबु श्रेष्ठले फेसबुकमा लेखेका छन्– सरकारले कसरी साउन ६ गते रातिदेखि लकडाउन अन्त्य भएको घोषणा गर्न सक्छ ? जबकि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान, लामो दूरीका बस भदौबाट मात्र सञ्चालनमा आउने भनिएको छ । सीमा नाकासहित स्कुल कलेज, जिम, धार्मिक स्थल, सैलुन खुल्ने निर्णयसमेत भएको छैन ।

सरकारको निर्णय अदालतको आदेशले रोकिएको कर उठाउने प्रयोजनका लागि मात्र भएको व्यवसायी श्रेष्ठको टिप्पणी छ । जनस्वास्थ्य भन्दा राजस्वलाई सरकारले प्राथमिकता दिएको देखिएको उनी बताउँछन् । सरकारले सुरक्षाको पूर्वतयारी र ठोस मापदण्डबिना लकडाउन खोल्ने हो भने स्थिति भयावह हुनसक्ने उनको भनाइ छ ।

सरकारका अनुसार साउन १५ गतेदेखि होटल सेवा सुचारु हुनेछ भने सार्वजनिक यातायात भदौ १ गतेबाट सुचारु हुनेछन् । सरकारले सोमबार नै भदौ १ बाट व्यावसायिक हवाई उडान सुरु गर्ने निर्णयसमेत गरिसकेको छ ।

होटल तथा रेष्टुरेन्ट खुले पनि सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । तर, ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय भने सञ्चालनमा आउने छन् ।

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी शर्तमा मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरू सञ्चालनमा आउने भएका छन् । यस्ता बस सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड पालना गर्नुपर्नेछ ।

सरकारको निर्णयअनुसार सबै प्रकारका सेवा तथा कार्यहरू सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्नेछ भने मास्क प्रयोगसहित पटकपटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्डलाई अनिवार्य गरिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका भने साउन ३२ सम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि साउन ६ गते मंगलबारसम्मका लागि नाका बन्द गर्ने निर्णय थियो । यद्यपि, असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेशबमोजिम स्थलमार्गबाट तोकिएका विन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था गरिएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह