Logo

Banner-news

रुप्से झरना अब तस्बिरमा मात्र: बाढीले क्षतिविक्षत बनायो, पुरानै स्वरुपमा फर्काउन असम्भव


GDP Nepal
   १० श्रावण २०७७, शनिबार


म्याग्दी । म्याग्दीको आकर्षक पर्यटकीय स्थल रुप्से झरना अब तस्बिरमा मात्र सीमित हुने भएको छ । यस वर्षको मनसुनका कारण आएको बाढीले झरना बग्ने मुख्य भाग नै बगाएको छ भने अब पुरानै अवस्थामा फर्काउन असम्भवप्रायः देखिएको छ ।

राससका अनुसार गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड ९कालीगण्डकी करिडोर० अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका आन्तरिक तथा बाह्य पर्यटकले अब रुप्सेको पुरानो सौन्दर्य देख्न नपाउने भएका छन् ।

बाढीले झरनाको खण्ड बिगारको मात्र होइन एक होटेल, पुल र स्काभेटरसमेत बगाएको छ ।

झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय हस्तबहादुर पुनका अनुसार अब रुप्से झरना पुरानै स्वरुपमा फर्काउन निकै श्रम र लगानी आवश्यक छ ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बुढापाका बताउँछन् । साविकको दाना गाविसले रुप्से झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग र भ्युटावर निर्माण गरेको थियो । मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटक र तीर्थयात्री रुप्सेको मोहक सौन्दर्य देखेर लठ्ठिने गर्दथे ।

रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसको समेत भीड हुने गर्दथ्यो । पुल नजिकै गाडीको भीड हुन्थ्यो, झरनाको दायाँ र बायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाडमछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बनेको छ ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गर्दथ्यो ।

रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्युटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको थियो । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यरुपमा बढेको थियो ।

स्थानीयले झरनामा कान्छा भुमे देवताको वासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको स्थानीयले बताएका थिए ।

प्रकाशित : १० श्रावण २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह