Logo

भारतबाट दक्ष कामदार ल्याउन सकिएन, तेस्रो मुलुक पनि खुलाउनुपर्‍यो: सीएनआई




काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा तेस्रो मुलुकबाट पनि कामदार ल्याउन पाउनुपर्ने माग गरेको छ ।

परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरी भारतबाट कामदार ल्याउने अवस्था नभएकाले तेस्रो मुलुकबाट ल्याउने वातावरण निर्माणका लागि आग्रह गरेको हो ।

अर्थन्त्रीसँगको भेटमा परिसंघ उपाध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योग सञ्चानलका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजीकरण गर्दै अन्य देशबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्न अग्रह गरेका थिए ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी टोलीले अर्थमन्त्रीसमक्ष आर्थिक वर्ष २०७७÷०७८ को बजेट र सो बजेट कार्यान्वयनलाई सहयोग पुग्नेगरी हालै आएको मौद्रिक नीतिका धेरै व्यवस्थाहरुबाट निजी क्षेत्रले राहत महशुस गरेको बताएको छ ।

बजेटले ल्याएका पक्षहरु राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा समेत तदारुकता देखाउनु पर्ने तथा बजेट र मौद्रिक नीतिमार्फत सम्बोधन भएका कतिपय विषयमा सम्बन्धित निकायले स्पष्टसँग कार्यान्वयनमा ल्याउन नसकेको विषयहरु अर्थमन्त्री समक्ष प्रस्तुत गरेको थियो ।

बजेटमार्फत उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाएकोमा त्यसलाई कार्यान्वयन नगरी विद्युत प्राधिकरणबाट पहिलेकै बिल जारी भई आएकोले उद्योगहरुलाई थप मर्का परेको बताएको थियो ।

निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरुलाई आईईई र ईआईएमा देखिएका प्रक्रियागत जटिलतालाई सरलीकृत गर्नु पर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी निर्यातजन्य उद्योगलाई दिइने बोन्डेड वेयरहाउसको सुविधा, सामाजिक उत्तरदायित्वको खर्चकट्टी गर्ने सम्बन्धमा देखिएको समस्याका बारेमा पनि अर्थमन्त्रीसँग छलफल गरेको थियो ।

परिसंघले अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सिर्जना गर्नको लागि र स्वदेशी उत्पादनमा गौरव गर्र्दै यसको प्रवद्र्धन गर्नको लागि “मेक इन नेपाल” को अवधारणालाई अगाडि बढाएको अर्थमन्त्रीसमक्ष बताएको छ । यसले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने परिसंघको धारणा रहेको छ ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आत्मनिर्भर हुनसक्ने उद्योगहरुको सम्बन्धमा परिसंघको धारणा राखे । त्यसैगरी परिसंघले सरकारसँग सदैव सहकार्य गर्दै आइरहेकोले परिसंघले अनुसन्धान सेलको स्थापना गरी अनुसन्धानका कार्यहरु अगाडि बढाएकोले आगामी दिनमा सरकारलाई आवश्यक पर्ने उद्योग व्यवसाय क्षेत्रका अद्यावधिक तथ्यांकहरु उपलब्ध गराउन सहज हुने बताए ।

अर्थमन्त्री डा. खतिवडाले हालको अवस्थामा उद्योगहरु सञ्चालनका सम्बन्धमा जिज्ञासा राखेका थिए । अर्थमन्त्रीबाट उद्योगी व्यवसायीहरुका मागहरुलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमा पनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताए ।

छलफलमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, निर्वाणा चौधरी र कृष्णप्रसाद अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्