Logo

कर्पोरेट-बजार

मनकामना केबलकारको उदाहरणीय कामः कर्मचारीलाई लकडाउनमा पनि शतप्रतिशत तलब


GDP Nepal
   १५ श्रावण २०७७, बिहिबार


काठमाडौं । रोजगारदाता र श्रमिकबीच लकडाउन अवधिको आधा मात्र तलब लिनेदिने सहमति भए पनि निजी क्षेत्रको सफल व्यावसायिक प्रतिष्ठान मनकामना केबलकार भने उदाहरणीय बनेको छ । केबलकारले आफ्ना कर्मचारी तथा मजदुरलाई लकडाउन अवधिको पनि पूरै तलब दिने भएको छ ।

लकडाउन अवधिमा बन्द रहेको केबलकार अझै सञ्चालनको टुंगो छैन । सरकारले मठमन्दिरजस्ता धार्मिक क्रियाकलाप सञ्चालन खुला नगरेपछि केबलकार सञ्चालनमा आउन सकेको छैन ।

चार महिनादेखि बन्द रहे पनि मनकामना केबलकारले आफ्ना कर्मचारीलाई लकडाउन अवधिको पनि पूरै तलब दिने भएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । केबलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

सञ्चालक श्रेष्ठ र मनकामना केबलकार

अहिलेको परिस्थिती र कर्मचारीको दैनिक जीविकोपार्जनलाई मध्यनजर गर्दै कम्पनीले सामान्य अवस्थामा आएपछि पुनः हिसाबमिलान गर्नेगरी चार महिनाको सतप्रतिशत तलब दिने निर्णय गरेको सञ्चालक श्रेष्ठ बताउँछन् । उनका अनुसार यसअघि नै कम्पनीले कर्मचारीलाई चैत महिनामा कुल तलबको ५० प्रतिशत र वैशाख, जेठ र असारमा ४० प्रतिशत वितरण गरेको थियो ।

कर्मचारीको दैनिक जीविका सहज होस् भन्नका लागि मानवीय नाताले पनि ती चारै महिनाको बाँकी तलब मिलान गरेर शतप्रतिशत भुक्तान गर्ने निर्णय गरेको श्रेष्ठको भनाइ छ । कर्मचारी र कम्पनीको योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा जम्मा गरिँदै आएको ३१ प्रतिशत रकम भने सरकारले नै दिनेछ ।

केबलकार सञ्चालन भने अवस्था सामान्य भएसँगै र सरकारले अनुमति दिएपछि हुनेछ । व्यवसाय सञ्चालनका लागि पूर्वतयारी स्वरुप कम्पनीलेस्ट्यान्डर्ड अपरेसन प्रोसिड्योर तयार गरिसकेको छ । यसमा केबलकार प्रयोगदेखि त्यहाँबाट बाहिरिँदासम्मका लागि स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले अब केबलकार पुनः संचालनमा ल्याउँदा सुरुवाती दिनमा क्षमताको ५० प्रतिशतमा यात्रुलाई सेवा दिने योजना बनाएको छ । यसबाहेक स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार केबलकारको आउने–जाने दुवै क्षेत्रमा यात्रुलाई आवश्यक परेको अवस्थामा आइसोलेसनको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह