Logo

Banner-news

पूर्वमन्त्री बस्नेतको पिताको शवमाथि राजनीति, मृत्युको एक सातापछि कोरोनाको रिपोर्ट !


GDP Nepal
   २८ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतका बुबा खड्गबहादुर बस्नेतको निधन भएको एक सातापछि कोरोना संक्रमण भएको रिपोर्ट सार्वजकि गरिएको छ । उपचारमा लैजाँदा कोरोना नेगेटिभ देखिएको स्व. बस्नेतको मृत्युपछि भने पीसीआर परीक्षणमा पोजेटिभ देखाइएकोमा यसलाई बस्नेत परिवारले षडयन्त्रको आशंका गरेका छन् ।

कोरोना संक्रमणको सन्त्रासको अवस्थामा पनि स्व. बस्नेतको अन्तिम श्रद्धाञ्जलीमा १५ सयभन्दा बढी सहभागी थिए । समाजसेवी स्व. बस्नेतप्रति स्थानीय स्तरमा उच्च सम्मान रहेको तथा पछिल्लो समय पूर्वमन्त्री बस्नेतको श्रृंखलाबद्ध समाजसेवाका कारण उनका पिताप्रति अन्तिम श्रद्धाञ्जलीमा मानिसको भीड बढ्नु स्वाभाविक नै थियो ।

तर, स्व. बस्नेतको अन्तिम संस्कार गरेको एक सातापछि कोरोना पोजेटिभको रिपोर्ट सार्वजनिक गरिनु नियोजित र नियतवश रहेको बस्नेत परिवारको भनाइ छ ।

पूर्वमन्त्री बस्नेतले मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै यसलाई मृत्युमा पनि राजनीति गर्ने कुचेष्टाको संज्ञा दिएका छन् । उनले अस्पताल भर्ना गर्दा नै पीसीआर परीक्षण गरिएको र त्यसमा नेगेटिभ देखिएको उल्लेख गर्दै एक सातापछि अचानक रिपोर्ट सार्वजनिक गरिनु र त्यसलाई परिवारभन्दा पहिले मिडियामार्फत बाहिर ल्याइनुमा गम्भीर षडयन्त्र हुनसक्ने बताएका छन् ।

बस्नेतले भनेका छन्– मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउँदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शव लैजान भन्ने अमानवीय हर्कत भयो ?

प्रस्तुत छ, कांग्रेस खेलकुद विभागका संयोजकसमेत रहेका बस्नेतको टिप्पणीः
हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछु । वास्तवमा बुबाको मृत्युु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७–४–२२ गते ११ः४५ मा भएको थियो ।

उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो ।

पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं ।

दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कत भयो ?

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह