Logo

Banner-news

राजनीति त अचेल ‘लाजनीति’ भइसक्यो, हामी सडकमा आउनुको विकल्प रहेनः शाह


GDP Nepal
   ११ फाल्गुन २०७७, मंगलबार



काठमाडौं । पर्यटन व्यवसायीहरुले मुलुक संकटमा परेका बेला राजनीतिक दलहरु आन्तरिक किचलोमा हुनु दुखद् भएको बताएका छन् । पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले सोमबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारले तत्काल कदम नचाले ठूलो संकट आउने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले भने, राजनीति त अचेल लाजनीति भइसकेको छ । यस्तो देखेर हामीलाई दुःख लाग्छ तर, सरकारमा बस्ने र बाहिर रहेका राजनीतिक दलहरु गम्भीर हुन सकेनन् ।

विनायक शाह

शाहले विगतको माओवादी युद्धका बेला नारायणी, ब्लुबर्ड तथा शेर्पा होटल बन्द भएको स्मरण गर्दै अहिलेको संकट त्योभन्दा ठूलो भएको र धेरै होटल तथा पर्यटनसँग सम्बन्धित प्रतिष्ठान बन्द हुने अवस्थामा रहेको बताए ।

शाहले भने, हामी सबै संकटमा छौं भन्ने सरकारलाई पनि थाहा छ तर थाहा हुँदाहुँदै पनि कानमा तेल हालेर बस्नु दुर्भाग्यपूर्ण छ ।

यसैबीच, विदेशी पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउन व्यवसायीहरुले माग गरेका छन् ।

कोभिड–१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका हुन् ।

थला परेको पर्यटन व्यवसायलाई विभिन्न १० बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीको मागमा ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ । अनलाइन र अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट प्रवेशाज्ञाको व्यवस्था पूर्ववत्रुपले गराउन व्यवसायीले अनुरोध गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड परीक्षण मेशिन राख्ने अथवा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न माग गरिएको छ । कोरोनाविरुद्धको खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरु तत्काल खोल्नुपर्ने, नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमणको व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै नेपाल–भारत र नेपाल–चीन सीमानाहरुबाट भित्रिने पर्यटकलाई सवारीसाधनसहित निर्बाधरुपमा आउन पाउने व्यवस्था मिलाउन माग गरिएको छ । कम्तीमा पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाएर कोरोनाविरुद्धको खोप पूरा मात्रा लगाई आएका पर्यटकलाई सहजरुपमा घुम्न दिनुपर्ने व्यवसायीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएशन नेपाल (हान), नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), हिमालय उद्धार सङ्घलगायत संस्थाहरु छन् ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह