Logo

घुमफिर

नयाँ अमेरिकी राजदूत र्‍याण्डी बेरीको उपत्यकाबाहिर पहिलो भ्रमण लुम्बिनीबाट !


appharu
   १७ भाद्र २०७५, आइतबार


काठमाडौं । नेपालमा नयाँ अमेरिकी राजदूतमा सिफारिस भएका र्‍याण्डी डब्लु बेरी हालसम्म काठमाडौं आइपुगेका छैनन् । तर, काठमाडौंस्थित अमेरिकी दूतावासका एक उच्च अधिकृतले उनलाई काठमाडौंबाहिर सबैभन्दा पहिले कुन स्थानमा घुमाउनु उचित हुन्छ भनेर मत सर्भेक्षणसमेत सम्पन्न गरिसकेका छन् ।

दूतावासका चार्ज डे अफेयर्स माइकल सि. गोन्जालेजले गरेको यस्तो सर्भेक्षणमा ३६ प्रतिशत उत्तरदाताले नयाँ राजदूतलाई उपत्यकाबाहिरको पहिलो भ्रमण लुम्बिनीबाट गराउन सुझाव दिएका छन् ।

ट्वीटरमार्फत गरिएको सर्भेक्षणमा २९ प्रतिशतले पोखरा भनेका छन् भने ९ प्रतिशतले मात्रै चितवनलाई उपयुक्त भनेका छन् । यस्तै, अन्य समूहमा राखिएका इलाम मुस्ताङलगायतका स्थान रोज्नेमा २६ प्रतिशत छन् ।

४३९ जनाले मत दिएको ट्वीटर सर्भेक्षणअनुसार कतिपयले रारा, गोर्खा, सुदुरपश्चिम लैजान सुझाव दिएका छन् भने कतिपयले काठमाडौं नजिकैको चन्द्रागिरीमा जानुपर्ने भनेका छन् ।
चन्द्रागिरी जान सतर्कता अपनाउन भन्दै केही समयपहिले अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सूचित गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।

समलिंगी अधिकारकर्मीका रुपमा चिनिएका राजदूत र्‍याण्डी डब्लु बेरीले काठमाडौं आएर पदभार ग्रहणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र ग्रहण गर्नेछन् । त्यसलगत्तै राजदूतले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत पूर्व प्रधानमन्त्रीहरुसँग भेट्नेछन् ।

संसारकै शक्तिशाली देशका राजदूतका रुपमा नेपाल रहने भएकाले उनका गतिविधिलाई नेपाली जनताले पनि चासोका साथ नियाल्ने गर्छन् ।
यसअघिकी राजदूत एलाइना बी. टेप्लिजले कहिले नेपाली बोलेर त कहिले नेपाली पोशाक लगाएर तथा नेपाली चाडपर्वको शुभकामनासँगै आफ्नै निवासमा मनाएर नेपालीको मन जितेकीले पनि नयाँ राजदूतको आगमनलाई व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ । टेप्लिज भने श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

नयाँ राजदूतका रुपमा आउन लागेका बेरी सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् ।
तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह