Logo

कर्पोरेट-बजार

सिमेन्ट उद्योगमा एक दशकमै ६० अर्बभन्दा बढी लगानी, तर आयात बढेको बढ्यै !


appharu
   २८ भाद्र २०७५, बिहिबार


काठमाडौं । नेपालमा पछिल्लो १ दशकमा सिमेन्ट उद्योगमा मात्र ६० अर्बभन्दा बढी लगानी भएको छ । दशकअघि मारुती सिमेन्टबाट सुरु भएको ठूला उद्योग खुल्ने क्रम बहुराष्ट्रिय कम्पनी होङ्सी शिवमसम्म आइपुग्दा ६० अर्बभन्दा बढी लगानी भइसकेको छ ।


तर, मुलुक सिमेन्टमा आत्मनिर्भर हुनुको सट्टा बर्सेनि आयात भने बढिरहेको छ । तयारी सिमेन्ट र मुख्य कच्चा पदार्थका रुपमा क्लिङ्करसमेत आयात बढिरहेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ । सरकारी लक्ष्यअनुसार गत वर्षमा नै आत्मनिर्भर भइसक्नुपर्ने सिमेन्ट उद्योगमा राष्ट्र बैंकको तथ्यांकले भने आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो ।

आव २०७३/७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशत वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको छ । अघिल्लो आव २०७२/७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो ।

नेपालमा सिमेन्ट तथा क्लिङ्कर छिमेकी मुलुक भारतबाट आयात भएको हुने गरेको छ । यस क्षेत्रमा वैदेशिक लगानी पनि उत्साहजनक छ । होङ्सी शिवम् अहिलेसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानीको उत्पादनमूलक उद्योग हो भने अवसर पाएमा अफ्रिकाको डांगोटेलगायतका उद्योग पनि नेपाल आउन तयार छन् ।


सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो । तर, सिमेन्ट तथा क्लिङ्करको आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुुन अझै निकै समय लाग्ने देखिएको छ ।

२०७२ सालको भूकम्पले नेपालमा ८ लाखभन्दा बढी निजी आवास तथा ठूलो संख्यामा विद्यालय, स्वास्थ्य चौकी तथा सम्पदाहरूमा क्षति पु¥याएपछि पुनर्निर्माणका क्रममा परम्परागत निर्माण शैली बदलिएको छ ।

ढुंगा र माटोले बनेका अधिकांश घरहरू अहिले सिमेन्ट र बालुवाबाट बन्न थालेका छन् । कतिपयले ढुंगाको विकल्पका रूपमा इटाको समेत प्रयोग गर्न थालिसकेका छन् । यसरी पुनर्निर्माणले स्वरूप र निर्माण शैलीमै परिवर्तन ल्याउँदा सम्वन्धित सामाग्रिको आयात पनि बढेको छ ।

घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट मुख्य हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा वाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ । भूकम्पले आम उपभोक्तामा सचेतना ल्याएको र खर्च गरेरै भएपनि बलियो घर बनाउनुपर्छ भन्ने पाठ सिकाएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा शिवम् सिमेन्टका सञ्चालक सतिषकुमार मोर पनि भूकम्पपछि आम उपभोक्ता, निर्माणकर्ता तथा सरोकारवालामा जनचेनताको ‘प्यारामिटर’ निकै परिवर्तन भएको भएकाले स्वदेशी उत्पादनसँगै आयात पनि बढेको बताउँछन् ।

प्रकाशित : २८ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह