Logo

Banner-news

पुरानो र आधारहीन कुरा उचालेर खोपकेले प्रतिष्ठामा क्षति पुर्‍यायो: अरुण चौधरी


appharu
   ७ माघ २०७५, सोमबार


काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) को सहकार्यमा तयार पारेको ‘नेपालिक्स’ रिपोर्टमा आफनो नाम जोडिएकोमा आपत्ति जनाउँदै व्यवसायी अरुणकुमार चौधरीले खण्डन गरेकोे छन् ।

चौधरी परिवारका सदस्यहरूको ब्रिटिस भर्जिन आइल्यान्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भएको भनी उल्लेख गरिएको रिपोर्टमा ध्यानाकर्षण भएको भन्दै उनले प्रेस विज्ञप्तिमा आफू, श्रीमती शिला, छोराहरू करण र सूर्यान्सको नाममा उक्त कम्पनी आइल्यान्डमा दर्ता नै नभएको उनले स्पष्ट पारेका छन् ।

“हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र हाम्रो सिजी होल्डिंग्स समूहले प्रवर्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन,” विज्ञप्तिमा उनले भनेका छन् ।

जुन देशमा आफ्नो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यस देशमा आफनो परिवारका कुनै सदस्यले अहिलेसम्म यात्रासमेत नगरेको चौधरीले दाबी पनि गरेका छन् । जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ, विज्ञप्तिमा लेखिएको छ ।

“मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरूमा म र मेरो श्रीमती बाहेक अरू कसैको नाममा सेयर समेत छैन,” विज्ञप्तिमा लेखिएको छ, “हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोराहरूलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए तर हामीले खोलेनौं ।”

पुरानो र आधारहीन कुरालाई पुनः बाहिर ल्याएर देशकै एक प्रतिष्ठित व्यावसायिक घरानाको सार्वजनिक छविमा क्षति पु¥याउन खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

यस्तै सूचनालाई आधार बनाइ ३४ वर्ष पहिले पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ– विज्ञप्तिमा लेखिएको छ ।

आफू नेपालमा अटो मोबाइल्स, शिक्षा, हस्पिटालिटी, रियल–इस्टेट, उद्योगको क्षेत्रमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी भएको तथा आफ्ना कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको र करोडौं रुपैयाँ राजस्वमा योगदानसमेत गर्दै आएको कुरा पनि उनले स्पष्ट पारेका छन् ।

प्रकाशित : ७ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह