Logo

Banner-news

राजदूतहरु कुटनीतिज्ञमात्र नभै बजार प्रतिनिधिसमेत बन्नुपर्छः विनोद चौधरी


appharu
   २१ माघ २०७५, सोमबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का प्रेसिडेन्ट एमिरेट्स तथा सांसद विनोद चौधरीले विभिन्न देशका राजदूतहरुलाई कुटनीतिज्ञमात्र नभइ बजार प्रतिनिधिको भूमिका निर्वाह समेत गर्न सुझाव दिएका छन् ।

परिसंघले नवनियुक्त राजदूतहरुसँग गरेको अन्तक्र्रियामा चौधरीले भने– आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधिको समेत हुनुपर्छ ।

चौधरीले अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने विचार व्यक्त गरे ।

छलफलमा भारत, इजरायल, मलेसिया, यूएई, फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि हालै नियुक्त भएका राजदूतहरु सहभागी थिए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिदै लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको वर्तमान स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको आफूले महशूस गरेको बताए ।

शर्माले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजना सहित परिसंघजस्ता संस्थाहरुको सहयोग र सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

छलफलमा भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नुपर्ने विषयमा जोड दिए ।

छलफलमा राजदूतहरु डा. अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्णप्रसाद ढकाल (यूएई), दिपक अधिकारी (फ्रान्स), दुर्गाप्रसाद भण्डारी (कुवेत), भृगु ढुंगाना (क्यानडा), गणेश प्रसाद ढकाल (थाइल्याण्ड), मणिप्रसाद भट्टराई (यूएन, जेनेभा) र अमृत बहादुर राई ( यूएन, न्यूयोर्क) ले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरणबारे पैरवी गर्नेमा आ–आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित : २१ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह