Logo

Banner-news

विमानस्थलमा ब्रह्मलुटः भन्सार विभागदेखि ठूला एयरलाइन्स नै तिर्दैनन् भाडा


GDP Nepal
   ४ चैत्र २०७५, सोमबार


काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लुटको अखडाजस्तै बनेको छ । विमानस्थलको सेवा प्रयोग गरेबापत नागरिक उड्डयन प्राधिकरणलाई भाडा बुझाउनसमेत यसका सेवाग्राहीहरुले अटेरी गरिरहेका छन् ।

प्राधिकरणका अनुसार यसरी विमानस्थलबाट सेवा लिएवापत अथवा विमानस्थलको क्षेत्र प्रयोग गरेवापत तिर्नुपर्ने बक्यौता नबुझाउनेमा सरकारी निकाय नै अगाडि छन् । अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र पर्यटन मन्त्रालय अन्तर्गतको संस्थान नेपाल वायुसेवा निगम यसरी वक्यौता नबुझाउनेमा सबैभन्दा अगाडि छन् ।

भन्सार विभागले विमानस्थलको सयौं रोपनी जग्गा ओगटेर बसेको छ भने दैनिक करोडौं भन्सार यहिँबाट असुल गर्दछ । तर उसले यसबापत विमानस्थलाई सेवा शुल्क बुझाउन भने आनाकानी गर्दै आएको छ ।

भन्सार विभागको बक्यौता ५५ करोड रुपैयाँ पुगिसकेको छ । राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले विमानस्थलको सेवा उपयोग गर्नुको अतिरिक्त ग्राउन्ड ह्यान्डलिंगको समेत काम गर्दै आएको छ । तर, निगमले पनि विमानस्थललाई ३२ करोड बुझाउन बाँकी छ । निगमले किस्ताबन्दीमा रकम तिरे पनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको विमानस्थलले जनाएको छ ।

यसबाहेक एयर एशियाले विलम्ब शुल्कसहित २० करोड बक्यौता तिर्न बाँकी छ । मलेसियाको यो कम्पनीले नेपाल उडान बन्द गरिसकेको छ । यस्तै, नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सबाट १९ करोड बढी बक्यौता उठाउनुपर्ने छ । आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले पनि ३ करोड बक्यौता राखेको छ ।

यसैबीच, सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब २ अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह