Logo

Banner-news

२०७६ विद्युत् उत्पादनको स्वर्ण वर्षः ४० आयोजनाबाट ११५० मेगावाट !


GDP Nepal
   ३ बैशाख २०७६, मंगलबार


काठमाडौं । यस वर्ष विद्युत् उत्पादनको दृष्टिले ऐतिहासिक वर्ष हुने भएको छ । कुल ४० आयोजनाको निर्माण सम्पन्न हुँदैछ भने यी आयोजनाबाट कुल १ हजार १ सय ५० मेगावाट विद्युत् उत्पादन हुँदैछ ।

यस वर्ष उत्पादन हुने बिजुली मुलुकको १०७ वर्षे विद्युत उत्पादनको इतिहासमा कुल उत्पादित बिजुलीभन्दा बढी हो । १९६८ मा ५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट विद्युत् उत्पादन सुरु भएको थियो । हाल जडित क्षमता १ हजार ३० मेगावाट छ ।

विद्युत् प्राधिकरणको लक्ष्यअनुसार वर्ष २०७६ भित्र ११ सय ५० मेगावाट बराबरका ४० जलविद्युत् आयोजना निर्माण हुँदैछन् ।

प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो लगायतका आयोजना नयाँ वर्षभित्र सम्पन्न हुँदैछन् ।

यस्तै, ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ए, ८२ मेगावाटको लोआर सोलुखोला, ८६ मेगावाटको सोलुखोला दूधकोसी, ३७.६ मेगावाटको काबेली–ए, ३४ मेगावाटको आँखुखोला लगायतका आयोजना पनि यसै वर्षभित्र सम्पन्न हुनेछन् ।

२०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने २५ मेगावाटको काबेली बी ए, ३६ मेगावाट माथिल्लो बलेफी ए, २५ मेगावाटको दरवाङ म्याग्दी, १०२ मेगावाटको मध्यभोटेकोसी तथा ५७.३ मेगावाटको अपर र अपर साञ्जेन जलविद्युत् आयोजना पनि २०७६ सालमै सम्पन्न हुने अवस्था देखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी विद्युत् उत्पादन २०५९ सालमा १५१.५ मेगावाट उत्पादन भएको थियो । सो वर्ष १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणमार्फत निर्माण सम्पन्न भएको थियो भने निजी क्षेत्रबाट ७.५ मेगावाटको इन्द्रावती तेस्रो उत्पादन भएको थियो ।
२०७४ सालमा ११७ मेगावाट, २०५७ सालमा नेपालमै पहिलो निजी क्षेत्रका खिम्ती र भोटेकोसीबाट १०५ मेगावाट उत्पादन भएको थियो ।
२०७६ सालमा भने स्वदेशी लगानीमा निर्माण भईरहेको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको मध्यभोटेकोसी, साञ्जेनलगायतका आयोजनाहरू समेत सम्पन्न हुने भएकोले यसै वर्षदेखि विद्युत् प्राधिकरणले विजुली निर्यात गर्ने योजना बनाएको छ ।

प्रकाशित : ३ बैशाख २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह