Logo

Banner-news

एनआरएनको भद्रगोल चुनावले रामलक्ष्मणको भोटिङ मेसिनमाथि विश्वासको संकट !


GDP Nepal
   १ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा महाधिवेशन यसपटक निकै भद्रगोल देखियो । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हुने भनिएको निर्वाचनमा सचिवालयको कमजोरीका कारण विद्युतीय मतदान हुन पाएन र यसबाट पीडित भए– नेपालका दुई आविश्कारक रामलक्ष्मण ।

रामलक्ष्मणले यसअघि निकै स्थानमा सफल प्रयोग गरिसकेको भोटिङ मेसिन एनआरएनए निर्वाचनमा उपयोग हुन सकेन । एनआरएनए सचिवालय र निर्वाचन समितिले भोटिङ मेसिनको प्राविधिक समस्याका कारण देखाए पनि यसको कारण सचिवालयको गैरजिम्मेवार व्यवहार रहेको खुलेको छ ।

एनआरएनए निर्वाचन कागजी मतपत्रका माध्यमले सम्पन्न भइसकेको छ तर रामलक्ष्मणले मेसिनमा कुनै प्राविधिक समस्या आएको नभइ तयारीका लागि एनआरएनएले सहयोग नगर्दा यस्तो परिस्थिति आएको जनाएका छन् ।

रामलक्ष्मणले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्–
गैरआवासीय नेपाली संघको नवौं सम्मेलनको लागि विगतका २ पटक जस्तै यसपाली पनि हामीले नेपालमै तयार पारेको भोटिङ मेशिन प्रयोग हुने भयो भनेर हामी दंग थियौं । यसपाली संघले हामीलाई प्रतिनिधि दर्ता गर्ने सफ्टवेयको काम समेत दिएको थियो । नयाँ काममा रमाउने हामीले त्यस सफ्टवेयरमा झण्डै १ महिनाको समय वितायौं । त्यस सफ्टवेयरको प्रयोगले ७ दिनसम्म एकदम बैज्ञानिक किसिमबाट प्रतिनिधि दर्ता गर्ने कार्य सम्पन्न गर्यौं । आश्विन २९ गते मतदानको कार्यक्रम थियो । मतदाता नामावली देखिनै ढिलो भएको प्रकृयाले उम्मेद्वारको नामावली प्रकाशनमा अत्यन्तै ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवाव त्यत्तिकै रहेको र जसरी पनि आश्विन २९ गते नै निर्वाचन गराउन पर्ने भन्ने कुराले हामी लगायत हाम्रा प्राविधिक समुह अत्याधिक तनावमा थियौं । अझ बढ्ता तनाव त त्यतिखेर भयो, जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड चाहियो नत्र निर्वाचन हुन नदिने भनी एक पक्षले प्राविधिक टोली पठायो । पहिल्यै ढिलो भइसकेको सेड्युलको झण्डै १ घण्टा त्यसैमा विताउनु पर्यो । प्राविधिक टोलिलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौं । मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम् ८ घण्टा ( जसमा नामावली चढाउने, परिक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनु पर्ने भन्ने प्रष्टै लेखेका थियौं । तर हामीले ३ घण्टा पनि समय पाएनौ ।
यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने वाध्यताले गर्दा न त निर्वाचन बाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि । उम्मेद्वारको नाम तस्विर राखिनसक्दै बाहिरको भिड थामिनसक्नु भयो र परीक्षणविनै मतदान शुरु गर्नु पर्ने वाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौ । मतदान शुरु गर्दा फोटो र नाममा समस्या देखिएको हो उक्त समस्यालाई हामीले तुरुन्तै समाधान गरीे सोही ठाउँमा देखाईसकेका छौं । हामीले विकाश गरी पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेशिनमा आजसम्म कुनै प्राविधिक खरावी नरहेको समेत हामी संपूर्णमा जानकारी गराउन चाहन्छौं । यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ । विस वर्षदेखि आफ्नो समाजको लागि यी र यस्ता प्रविधिको विकाशमा लागिरहेका हामी कतिपनि विचलित नभइकन काम गर्ने प्रण समेत गर्दछौं ।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह