Logo

Banner-news

उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष को ?


GDP Nepal
   २४ कार्तिक २०७६, आइतबार


काठमाडौं । विवाद र गुटबन्दीको पर्याय मानिएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघभित्रको विवाद हाललाई समाधान भएको छ । चैतमा हुने महासंघको ५४ औं वार्षिक साधारणसभाबाट शेखर गोल्छा महासंघको १९ औं अध्यक्ष निर्वाचित हुने पक्कापक्की भएको छ ।

गोल्छाको उत्तराधिकारी अर्थात महासंघमा २० औं अध्यक्ष चयन यतिबेला पेचिलो बनेको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने हालको वैधानिक व्यवस्थामा फेरबदल नहुने भएकाले २० औं अध्यक्षसमेत चैतको साधारणसभाले नै तय गर्नेछ ।

हाल एशोसियट उपाध्यक्ष रहेका चन्द्र ढकालसहित उपाध्यक्षद्वय किशोर प्रधान र उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने जनाएका छन् । यसबाहेक पूर्वउपाध्यक्ष तथा हाल प्रदेश ३ उद्योग वाणिज्य संघका अध्यक्ष रहेका दिनेश श्रेष्ठ र कोषाध्यक्ष पदबाट गत वर्ष राजीनामा दिएका ज्ञानेन्द्रलाल प्रधान पनि वरिष्ठ उपाध्यक्षका दावेदार हुन् ।

प्रधानले गत निर्वाचनमा गोल्छासँगै पराजय बेहोरेका थिए भने जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधान फेरि महासंघ भित्रिएका हुन् । यसरी उनको छवि महासंघभित्र व्यावसायिकभन्दा राजनीतिक बढी देखिन्छ । अर्कोतर्फ उपाध्यक्ष श्रेष्ठ प्रधानमन्त्री केपी ओली निकट मानिए पनि हालैमात्र नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा पराजय बेहोरेका हुन् । उनले महासंघमा गोल्छालाई रोक्न प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीको पक्षमा वकालत गर्दै आएका थिए ।


एशोसिएट उपाध्यक्ष ढकाल भने महासंघभित्र मध्यमार्गी भनेर चिनिन्छन् । उनी गत निर्वाचनमा पनि निर्विरोध निर्वाचित भएका थिए । मृदुभाषी ढकाल देशभित्र ठूलो व्यापारिक सञ्जाल तथा उच्च राजनीतिक पहुँचका कारण लोकप्रिय छन् र २० औं अध्यक्षका रुपमा उनकै पल्लाभारी हुने आकलन गरिएको छ ।

महासंघको जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी, डिबी बस्नेत, केशव पाण्डेलगायतको उम्मेदवारी चर्चामा छ भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ बलिया उम्मेदवार मानिएका छन् । जसमा सौंदर्य व्यवसायी कमला श्रेष्ठले पनि उम्मेदवारी दिने जनाएकी छन् । एसोसियट उपाध्यक्षमा सौरभ ज्योतिलाई ल्याउनुपर्छ भन्ने आवाज बलियो छ भने साहिल अग्रवाल तथा ज्योत्सना श्रेष्ठको पनि नाम चर्चामा छ ।

महासंघको कोषाध्यक्ष पदमा भने हालसम्म कसैले रुचि देखाएका छैनन् ।

प्रकाशित : २४ कार्तिक २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह