Logo

Banner-news

ग्लोबल आइएमई र जनता बैंकको मर्जर कि एक्विजिसन ?


GDP Nepal
   २० मंसिर २०७६, शुक्रबार


काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकको मर्जरपछि शनिबार एकीकृत कारोबार सुरु भयो । अर्थमन्त्री डा. युवराज खतिवडा नै एकीकृत कारोबार उद्घाटन समारोहमा उपस्थित भएपछि कार्यक्रम कम महत्वपूर्ण भन्ने कुरै भएन ।

मर्जर भनिए पनि मूलतः ग्लोबलले जनता बैंकलाई एक्वायर (प्राप्ती) नै गरेको हो । जनताका सञ्चालक तथा सेयरधनीको स्वाभिमानका लागि मर्जर भनिए पनि बैंकिङ क्षेत्रका जानकारहरु यसलाई मर्जर मान्न तयार छैनन् ।

सामान्यतया मर्जरमा सहअस्तित्व रहन्छ । तर एक्वायरमा त्यो हुँदैन । आइएमई फाइनान्ससँग ग्लोबल बैंक मर्जर गरेर नामको पछाडि ग्लोबल आइएमइ रहने तर कमर्ज एन्ड ट्रष्ट र जनता जस्ता कमर्सियल बैंक नै मिसिँदा पनि अस्तित्व नै नरहने भएपछि साविकको जनता बैंकको हैसियत पनि अब कमर्ज एन्ड ट्रष्टजस्तै इतिहासको पानामा विलिन हुने देखिन्छ ।

ग्लोबल आइएमइले जनतालाई न नाम दियो न सञ्चालक समितिमा उल्लेख्य सहभागिता नै । किष्ट बैंक र प्रभु बैंकबीचको मर्जरपछि पनि लोगो किष्टकै छ तर २०६६ सालमा कुनै एक पार्टीका १ हजारभन्दा बढी नेता, कार्यकर्ता र पार्टीसम्बद्ध व्यवसायीको संलग्नतामा खोलिएको जनता बैंक अब इतिहासमा मात्र रह्यो ।

संयोग पनि कस्तो भने जनता बैंक स्थापनाका लागि नेता, कार्यकर्ता र व्यवसायीलाई आह्वान गर्ने पार्टी पनि यतिबेला एकीकरणमा गइसकेको छ र उसको नाम पनि इतिहासमै छ ।

यद्यपि, एकीकृत भइसकेपछि ग्लोबल आइएमई बैंक पुँजी , व्यवसाय, शाखा संजाल समेतका हिसावले नेपालकै ठूलो बैंक बनेको छ ।

बैंकको प्राथमिक पुँजी २४ अर्ब रुपैयाँ, चुक्ता पुँजी १९ अर्ब, कुल निक्षेप २ खर्ब १३ अर्ब र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ छ ।

यस्तै, ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान हुनेछ ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुनलागेको बताउँदै देशले अल्पकालिनमात्र नभएर मध्यकालिन र दीर्घकालिन लगानी मागिराखेको बताए ।


“यसका लागि पनि ठूलो संरचना भएका वित्तीय संस्थाहरुको सञ्चालन सकारात्मक कुरा हो । यो मर्जरबाट देशका अरु पनि बैंक तथा वित्तीय संस्थाहरुले सिकुन्,” उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले बैैंक पुँजीलगायत सबै हिसाबले ठूलो वित्तीय संस्था बनेकोले त्यसैअनुरुप काम गर्न सुझाव दिए ।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह