Logo

Banner-news

भीमसेन मन्दिर पुनर्निर्माणलाई ३ करोड जुट्योः ललितपुर महानगरले पनि दियो १ करोड


GDP Nepal
   २८ मंसिर २०७६, शनिबार


ललितपुर । ललितपुरको पाटन दरवार स्क्वायरमा अवस्थित भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्षसमेत रहेका ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई शुक्रबार एक समारोहबीच उक्त रकम हस्तान्तरण गरे ।

महानगरपालिकाको सहयोगसँगै भीमसेन मन्दिर पुनर्निर्माणका लागि हालसम्म तीन करोड रुपैयाँ संकलन भइसकेको जनाइएको छ । छानामा लगाइने सुनको लेपनबाहेक ४ करोड ९३ लाख लागत अनुमान गरिएको भीमसेन मन्दिर पुनर्निर्माण ललितपुर उवासंघकै अगुवाइमा पुनर्निर्माण भइरहेको छ । यस्तै, उद्योग वाणिज्य संघले वाकाथनबाट संकलन गरेको रकम र हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रदान गरेको पाँच लाख रुपैयाँ समेत समितिलाई हस्तान्तरण गरिएको छ । यसअघि नै उद्योग वाणिज्य संघले मन्दिर पुनर्निर्माणको लागि १० लाख रुपैयाँ बीउपुँजी राखेर पुनर्निर्माण सुरु गरेको थिउो । विभिन्न संघसंस्था र कोषहरुबाट केही समयभित्रै थप रकम प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको समितिका संयोजक महर्जनले जानकारी दिए ।

मन्दिर पुनर्निर्माणको लागि आवश्यक प्राविधिक सहयोग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले उपलब्ध गराएको छ । कार्यक्रममा मेयर महर्जनले सम्पदा पुनर्निर्माणमा सार्वजनिक खरिद ऐनका प्रावधानले अप्ठेरो परेको अनुभव सुनाए । ‘टेन्डर गर्दा सबैभन्दा कम कबोल गर्नेलाई दिनुपर्ने भए पनि ठेकेदार अनुभवविहीन हुँदा समस्या परिरहेको उनको भनाइ छ ।
वैशाख १२ को भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्ताहरू चिराचिरा भएका थिए । मन्दिर पुनर्निर्माणका लागि तदर्थ समितिका सदस्यहरूले ९० हजार, ललितपुर महानगरपालिकाले १ करोड, दाताहरूबाट २ करोड र प्रदेश नं ३ सरकारले ५० लाख दिने घोषण गरिसकेको छ ।

भीमसेन मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तु रेखदेखको जिम्मेवारी पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन् ।

यसैगरी मन्दिरलाई चाहिने डांची र ईंट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउनेछन् भने मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्टले गर्ने वचनस्वरुप काम अघि बढेको हो ।

पाँच पाण्डवका माइला भाइ भीमसेनलाई नेवारहरूले आरध्य देवका रूपमा पुज्ने गरेका छन् । सो मन्दिर पुनर्निर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गोल टोल सुधार समिति, ललितपुर महानगरपालिका, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घसंस्था लागिपरेका हुन् ।
चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो । भीमसेनको मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५ औँ कला नगरी घोषणा गरिसकेको छ ।

पाटनका प्रसिद्ध धरोहरका रुपमा भीमसेन, कृष्णमन्दिर, चारनायारण, दरबार सङ्ग्रहालय र अशोक स्तम्भ रहेका छन् । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो हो । भूकम्पका कारण उत्तरपट्टि ढल्केको सो मन्दिर इटालियन विशेषज्ञले अत्यन्त जोखिमपूर्ण रहेको ठहर गरी तत्काल पुनर्निर्माण गर्न आग्रह गरेको थियो भने अर्का प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको चिह्न पनि लगाएका थिए । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापार फलिफाप हुने विश्वास आम व्यवसायीहरूको छ ।

प्रकाशित : २८ मंसिर २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह