Logo

Banner-news

टेलिकमको फोरजी अब ७७ वटै जिल्लामा, मन्त्री भन्छन्– सेवासँगै गुणस्तरमा ध्यान देऊ


GDP Nepal
   २२ माघ २०७६, बुधबार


काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका सबै जिल्लामा फोरजी सेवा विस्तार गरेको छ । मंगलबार हुम्लाको सिमकोटमा सेवा विस्तार गरेसँगै कम्पनीले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार सम्पन्न भएको जनाएको हो ।

कम्पनीले सुगम तथा उच्च बसोबास भएका जिल्लामा सदरमुकामबाहेकका क्षेत्रमा पनि सेवा विस्तार गरेको छ भने हुम्ला, जुम्ला, डोल्पा मुगु र कालिकोटमा भने सदरमुकाममा मात्रै फोरजी सेवा पु¥याएको छ । मोबाइल सेवाको प्राविधिक अग्रता कायम राखी बजार हिस्सा र राजस्व वृद्धि फोरजी परियोजनाले पुरानै लयमा फर्काउने कम्पनीले जनाएको छ ।

बुधबार कम्पनीको १६ औं वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले देशभर फोरजी सेवाको पहुँच पुगेसँगै अब गुणस्तरीय सेवा विस्तार गर्न कम्पनीलाई निर्देशन दिए । प्रतिस्पर्धाको अहिलेको अवस्थामा भौगोलिक रुपमा उपस्थिति जनाएर मात्रै नहुने भन्दै छनोट सहितको गुणस्तरीय सेवामा ध्यान दिन कम्पनी व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मन्त्री बाँस्कोटाले अन्य सरकारी लगानीमा सञ्चालित संस्थाको तुलनामा टेलिकम उच्च सम्भावना बोकेको कम्पनी भएकोले जसरी फूललाई मालीले स्याहार गर्छ त्यसरी नै व्यवस्थापन र कर्मचारी मिलेर कम्पनीलाई सपार्न सके सबै भविष्य उज्वल भएको बताए ।

गत वर्ष देशभर फोरजी सेवा पु¥याउने संकल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमान्दार प्रस्तुत हुन उनले कर्मचारीलाई आग्रह गरेका छन् ।

कर्मचारीलाई निर्देशन र सुझाव दिँदै गर्दा विनियावलीको माग गर्दै आन्दोलनरत कर्मचारी युनियनको शैलीप्रति भने उनले विरोध जनाए । मन्त्री बाँस्कोटाले आमाको जन्मदिनका दिन मंगलधुन बजाउने कि शोकधुन बजाउने ? भन्ने प्रश्न विरोध जनाउने कर्मचारीलाई गरे ।

“यहाँ गाईजात्रा देखियो, पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो,” आक्रोशित हुँदै उनले भने । विरोधमा उत्रिएका कर्मचारीले छाती र टाउकोमा आफ्नो माग टाँसेर कार्यक्रममा दर्शकदीर्घाबाट घेराउ गरेका थिए ।

मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । “अहिले सरकारले टेलिकमलाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफै जान्छ,” उनले सरकारले अवसर पर्याप्त दिँदा पनि कम्पनीले नतिजा देखाउन नसकेकोमा आपत्ति जनाए ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले एडीएसएल तथा ल्याण्डलाइन टेलिफोनलाई फाइबर टू दि होम (एफटीटीएच) सेवामा रुपान्तरण गर्ने कार्य काठमाडौंलगायत देशभर अगाडि बढाइएको जानकारी दिए ।

कम्पनीले हालसम्म २८ जिल्लामा ५७ एक्सचेञ्जहरुमार्फत १ लाख ४५ हजार नेटवर्क जडान गरेको छ भने ३६ हजार ग्राहकलाई एफटीएचएमा रुपान्तरण गरिसकेको छ । सीडीएमए सेवाका ग्राहकलाई आगामी आर्थिक वर्षभित्र फोरजी सेवामा रूपान्तरण गरी सीडीएमए बन्द गर्ने तयारी गरेको छ ।

प्रकाशित : २२ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह