Logo

Banner-news

अर्थमन्त्री हट्ने भन्दै सेयर बजारमा साना लगानीकर्ता डुबाउने खेल !


GDP Nepal
   १३ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । सेयर बजार संसारभर संवेदनशील हुन्छ अर्थात सानो घटनाको ठूलो प्रभाव रहन्छ । आर्थिक क्षेत्रको नीतिगत परिवर्तनमात्र नभइ राजनीतिक घटनाक्रमले पनि सेयर बजारमा तीव्र उतारचढाव देखिन्छ ।

नेपालमा अहिले यस्तै भइरहेको छ । अर्को सातादेखि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल सकिँदैछ र यसपछि उनले निरन्तरता पाउँदैनन् भन्ने हल्ला आम लगानीकर्तामाझ फिँजाइएको छ ।

खतिवडा हट्नेवित्तिकै सेयर बजारमा चामत्कारिक सुधार आउँछ भन्ने हल्ला चलाइए पनि वास्तविक रुपमा यो बढ्नुपर्ने कुनै आधार देखिँदैन । अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएका छन् । यसले खतिवडामाथि ओलीको दृढ विश्वासको पनि संकेत गरेको छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सहमति गरेको छ । राष्ट्रियसभामा खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ भने वामदेवलाई तत्काल राष्ट्रियसभामा लैजाने हो भने खतिवडालाई विदा गर्नुपर्ने हुन्छ । तर, वामदेवको विषयलाई लिएर पार्टीभित्र र बाहिर पनि उत्तिकै विवाद छ ।

यसरी प्रधानमन्त्रीले एकातिर खतिवडामाथि आफ्नो विश्वास डगमगाएको छैन भन्ने संकेत दिइरहँदा सचिवालयको अमूर्त निर्णयले झस्काएको छ । यसैले फागुन तेस्रो सातामा मुलुकले नयाँ अर्थमन्त्री पाउँछ कि खतिवडाकै निरन्तरता रहन्छ भन्ने प्रश्नमा मुलुकको राजनीतिमात्र नभइ अर्थतन्त्र पनि घुमेको छ । सेयर बजारका अधिकांश लगानीकर्ता खतिवडाको निरन्तरता चाहाँदैनन् भने नेकपा सचिवालयको निर्णयले उनीहरु उत्साहित देखिन्छन् ।

सेयर बजारलाई अर्थमन्त्री खतिवडा फोविया छ भन्ने विगत दुई वर्षका घटनाक्रमले पुष्टि गरिसकेको देखिन्छ । विगतमा खतिवडाका कतिपय अभिव्यक्तिले तथा केही नीतिसमेतका कारण यस्तो अवस्था आए पनि पछिल्ला महिनामा उनी लगानीकर्ताको मन जित्ने प्रयासमै छन् ।

तर, खतिवडाले अहिलेको सेयर बजारलाई तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको ‘जुवाघर’ जस्तै भन्ने शब्द प्रयोग नगरे पनि यो बजारलाई माथि उठाउन चाहाँदैनन् भन्ने प्रष्ट देखिन्छ । लगानीकर्ता भने आज लगानी गरेर भोलि नै नाफा खोज्ने मनोविज्ञानले ग्रसित देखिन्छन् ।

उनीहरुकै लहैलहैमा लागेर अथवा उनीहरुलाई प्रयोग गरेर अर्थमन्त्रीलाई असफल देखाउन चाहाने नेकपाभित्रकै केही नेताको गुप्त आकांक्षा पनि लुकेको छैन । तर, अर्थमन्त्रीलाई निरन्तरता दिने कि नदिने भन्ने प्रधानमन्त्री ओलीको एकल निर्णयमा भर पर्ने कुरा हो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेकै दिन राष्ट्रपतिले उनलाई पुनः राष्ट्रियसभामा मनोनित गर्न सक्छिन् र भोलिपल्टै उनको पदले निरन्तरता पाउनसक्छ र यो बहस कम्तिमा आगामी तीन वर्षका लागि अन्त्य हुनेछ ।

मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रको नायक अर्थमन्त्री पदलाई अस्थिरताको बन्दी बनाइरहनु हुँदैन । यसबाट चलखेल गर्दै केही लगानीकर्ताले कमाए पनि यो बेलामा लगानी गर्ने अधिकांश साना लगानीकर्ता नै डुब्ने हुन् र यसले अर्थमन्त्रीप्रति झनै नकारात्मक धारणाको विकास हुन्छ ।

ठूला लगानीकर्ताको चलखेलमा साना लगानीकर्ता पेलिने र त्यसको दोष नीति निर्माताले पाउने प्रवृत्ति पक्कै पनि सुखद् हैन । यसैले खतिवडा अर्थमन्त्री नरहँदैमा भोलिका अर्थमन्त्रीले सेयर बजारलाई मात्र माथि उठाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउन सक्दैनन् ।

त्यसै पनि अर्थतन्त्रको ऐना बन्न नसकेको सेयर बजारमा प्रभुत्व रहेको बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण नै टीठलाग्दो देखिन थालेको अवस्थामा कुनै व्यक्तिका कारण सेयर बजार ओरालो लागेको भ्रम सिर्जना गरिनु सान्दर्भिक होइन ।

खतिवडाको बहिर्गमनको हल्ला चलाएर आइतबार सेयर बजारमा जेजस्तो ढंगले कारोबार गरियो त्यो निश्चय पनि स्वाभाविक होइन । नेप्से परिसूचक एकैदिन ६९.५६ अंक बढ्नु र कारोबार रकम पनि ३ अर्ब ६० करोड नाघ्नुलाई सामान्य मान्न सकिँदैन । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको संकट देखिइकेको र नेपाल पनि प्रभावित हुने अवश्यम्भावी रहेको अवस्थामा यसरी हल्लाका भरमा सेयर बजार बढाइँदा त्यसले पार्ने असर भनेको साना लगानीकर्तालाई नै हो किनकी ठूला लगानीकर्ताले आफ्नो लगानी यस्तै बेलामा सुरक्षित गरिसकेका हुन्छन् ।

यसैले अर्थमन्त्रीमा खतिवडा रहुन् वा नरहुन् त्यो त्यति ठूलो कुरा होइन तर अर्थतन्त्रमा चामत्कारिक सुधारको कुनै संकेत नभएको तथा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक नरहेको अवस्था एवं नीतिगत सुधारको पनि कुनै सम्भावना नरहेका बेला यसरी बजार बढ्नु स्वाभाविक होइन । यसमा लगानीकर्ता सचेत रहनैपर्छ ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह