Logo

Banner-news

चन्द्र ढकालद्वारा महासंघको २० औं अध्यक्षका लागि उम्मेदवारी घोषणा !


GDP Nepal
   १४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्षका लागि उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको १८ औं अध्यक्ष भवानी राणाको कार्यकाल सकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा ढकालले १९ औं अध्यक्ष शेखर गोल्छाको कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकालले बुधबार राजधानीको याक एन्ड यति होटलमा समर्थक, शुभेच्छुक तथा सञ्चारकर्मीमाझ आफ्नो उम्मेदवारी घोषणा गरे । आफूले महासंघको गौरवलाई थप उचाइमा पुर्याउने तथा निजी क्षेत्रको छाता संगठनका रुपमा गर्व गर्नसक्ने संस्थाका रुपमा विकास गर्ने बताए । निजी क्षेत्रको हक अधिकार रक्षासँगै सरकारसँग हातेमालो गर्ने उनको एजेण्डा छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ । यसैले आगामी चैत अन्तिम साता काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ढकाल २०७९ चैतमा महासंघको अध्यक्ष स्वतः निर्वाचित हुनेछन् । यद्यपि, महासंघको विधान संशोधन चर्चामा रहेको र कार्यसमितिको कार्यकाल दुई वर्षमा सीमित राख्ने विषयमा मोटामोटी सहमतिसमेत भइसकेकाले उनले २०७८ चैतमै जिम्मेवारी पाउनसक्ने सम्भावना पनि छ ।

वि. सं. २०८० को दशकको पहिलो अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन छ । महासंघमा पछिल्लो डेढ दशकदेखि प्रभाव जमाउँदै आएका ढकालले समर्थन गरेकै उम्मेदवारमात्र नेतृत्वमा पुग्दै आएकोले यसपटकको निर्वाचन पनि रोचक हुने देखिन्छ ।

तीन वर्षअघिको निर्वाचनमा महासंघको एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित ढकाललाई वरिष्ठ उपाध्यक्षका तत्कालीन उम्मेदवारहरु शेखर गोल्छा र किशोर प्रधान दुवैले आफ्नो प्यानलमा रहेको दावी गरेका थिए । नौ वर्षअघि द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट निर्विरोध निर्वाचित हुँदै महासंघ प्रवेश गरेका ढकाल त्यसपछिको निर्वाचनमा भने एशोसिएट सदस्यमध्ये सर्वाधिक मतले विजयी भएका थिए ।


उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षको तयारी तीन वर्षअघि नै सुरु गरे पनि गत पुस ११ गते गृहजिल्ला बागलुङबाट औपचारिक घोषणा भएको थियो ।
समृद्धिको आधार, राज्य निजी क्षेत्र साझेदार’ नारासहित मैदानमा होमिएका ढकालले महासंघका अर्का उपाध्यक्ष किशोर प्रधानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अघिल्लोपटक शेखर गोल्छासँग पराजीत भए पनि उपनिर्वाचनबाट पुनः महासंघ छिरेका प्रधानलाई गोल्छासहित निवर्तमान अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष कुशकुमार जोशीसमेतको समर्थन छ ।

यद्यपि ढकाललाई महासंघका अध्यक्ष भवानी राणासहित उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायतको समर्थन रहेकाले उनले करिब ७० प्रतिशत मतसहित जित्ने दावी गर्दै आएका छन् ।

विकिपेडियाका अनुसार बागलुङको अमलाचौरमा विं.सं. २०२२ मा जन्मिएका ढकालले सामाजिक काममा ठुलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्याएका छन । न्यून आर्थिक पृष्ठभूमिबाट आएका व्यक्ति चन्द्र ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।


ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह