Logo

सेयर बजार

सेयर बजारमा आज के होला? जानकारहरु भन्छन्ः ८० अंकसम्म झर्न सक्छ !


GDP Nepal
   १५ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकको निर्णयविपरीत मनोनित राष्ट्रियसभा सदस्य पदमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भएपछि यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिन्छ । बुधबार खतिवडाको स्थानमा वामदेव गौतमलाई सांसद बनाउने पार्टीको निर्णय सार्वजनिक भएसँगै उछाल आएको सेयर बजार आज भने त्यसैगरी घट्ने अनुमान गरिएको छ ।

जानकारहरु बिहीबार अर्थात साताको अन्तिम दिन सेयर कारोबारमा भारी गिरावट आउने बताउँछन् । बिहीबारको कारोबारमा नेगेटिभ सर्किट लाग्नसक्ने उनीहरुको भनाइ छ । पोजेटिभ सर्किटमा ६ प्रतिशत र नेगेटिभ सर्किटमा ५ प्रतिशतसम्म परिसूचक घटबढ भए कारोबार स्थगन हुन्छ ।

बुधबार १५९६.१३ अंकमा बन्द भएको नेप्से परिसूचकमा जतिसुकै गिरावट आए पनि बिहीबार ७९.८ अंकभन्दा तल जानसक्ने अवस्था छैन । यसैले विश्लेषकहरुको दावीअनुसार बिहीबार नेप्से १५१६ अंकको हाराहारीमा रहनसक्छ । यद्यपि, पार्टी निर्णय मान्दै प्रधानमन्त्रीले गौतमलाई सांसदमा सिफारिस गरेमा भने आइतबारबाट पुनः नेप्से बढ्नेछ ।

गत सातादेखि रेकर्ड राख्दै अगाडि बढेको सेयर बजारले बुधबार दिनभर भएको तीब्र उतारचढावबीच ४ अर्बभन्दा बढीको कारोबार भएर सेयर कारोबार रकममा नयाँ कीर्तिमान राखेको छ । बुधबार सेयर बजारमा मापक नेप्से परिसूचक पनि ५०.९३ अंकले बढेको थियो ।

कारोबार रकममा मात्रै नभएर बुधबार कारोबार संख्यामा समेत नेप्सेले कीर्तिमान तोडेको छ । बुधबार दिनभरमा ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले विज्ञप्तिमा जनाएको छ । गत आइतबार पनि कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियो ।

आइतबार ३० हजार ४ सय ५६ कारोबारबाट कुल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो । साथै, आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियो । आइतबारको किर्तिमान तोड्दै बजारले बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएर नयाँ किर्तिमान राखेको हो ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह