Logo

Banner-news

प्रदेश २ मा नेकपा निरिहः नामाकरणका लागि अब ध्रुवीकरण अनिवार्य !


GDP Nepal
   ५ चैत्र २०७६, बुधबार


काठमाडौं । मुलुकभरका अन्य प्रदेशमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले केन्द्रबाटै ह्वीप जारी गरेर नामाकरण र राजधानी तोके पनि प्रदेश २ मा भने नेकपा निरिह बनेको छ । राष्ट्रियसभा निर्वाचनपछि नेकपाले प्रदेश २ को शक्ति समीकरण परिवर्तनको प्रयास गरिरहे पनि सफल हुन सकेको छैन ।

प्रदेश सरकारबाट मुख्यमन्त्री लालबाबु राउतको पार्टी संघीय समाजवादी फोरमलाई विस्थापित गर्ने नेकपाको प्रयास सफल हुन सकेको छैन ।

प्रदेश नं २ को नामाकरणको लागि प्रदेशसभामा मंगलबार भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो ।

नामाकरणका लागि प्रदेशसभामा दिनभर भएको मतदानमा पनि कुनै टुङ्गो नलागेपछि प्रदेश नं २ को नामकरण थप अन्योलमा परेको छ ।

नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्यमधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार वटै प्रस्ताव फेल भएको हो ।

कुल १०७ सांसद रहेको प्रदेश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुग्न सकेन ।
सत्तारुढ दल राजपा र संघीय समाजवादीले प्रदेश नं २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्तावको पक्षमा ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ भने १ मत बदर भएको छ ।

मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत काँग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।

यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो । काँग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो ।

त्यसैगरी प्रदेश २ को नामकरणको लागि नेपाली काँग्रेसका सांसद राजेश्वरप्रसाद यादवले बागी भएर प्रस्ताव गरेको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको थियो । मध्य–मधेश नाम राख्नुपर्नेे प्रस्तावको पक्षमा ४२ मत खसेको थियो ।

चारवटै प्रस्ताव फेल भएकाले अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । त्यसको लागि दलहरुले पुनः प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह