Logo

Banner-news

एउटा ट्वीटको मूल्य कति ? टेस्लाका संस्थापकको ट्वीटले १४ अर्ब डलर नोक्सान !


GDP Nepal
   २१ बैशाख २०७७, आइतबार


अमेरिका (एजेन्सी): तपाइँ हामीले मनमा लागेको कुरा झट्ट ट्वीटर लेख्ने गर्दछौं र त्यसको कहिले वाहवाही आउँछ त कहिले आलोचना । माइक्रो ब्लगिङ भनिने ट्वीटरका २८० अक्षरभित्र धेरै मानिसका भावनादेखि सूचनासम्म अटाएका हुन्छन् ।

पछिल्ला केही वर्षदेखि संसारका राजनीतिज्ञदेखि धनाढ्यसम्मका ट्वीट निकै चर्चित हुन्छन् । कतिपय विवादमा पर्छन् भने कतिपयले ट्वीटरबाटै वैचारिक युद्ध पनि गरिरहेका हुन्छन् ।

तर, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई भने आफ्ना संस्थापकको एउटै ट्वीट महँगो परेको छ । टेस्लाका संस्थापक इलोन मस्कले आफ्नो कम्पनीको सेयर मूल्य धेरै बढी रहेको ट्वीट गरेकै कारण यस कम्पनीको सेयर मूल्यमा १४ अर्ब अमेरिकी डलरभन्दा बढीले गिरावट आएको छ ।

सोही विवादास्पद ट्वीटपछि लगानीकर्ताहरूले शेयर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको बीबीसीले जनाएको छ । संस्थापक मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका थिए ।

उनले यसअघिका अन्य ट्वीटहरूमा घरायसी समस्यासमेत लेखेका छन् । जसमा आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत उल्लेख गरेका छन् ।

यसअघि सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए । यो वर्ष टेस्लाको सेयर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ।

मस्कका ट्वीटरमा साढे तीन करोड फलोअर छन् ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह