Logo

Banner-news

नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउने धितोपत्र बोर्डको तयारी, कति सम्भव छ ?


GDP Nepal
   ५ श्रावण २०७७, सोमबार


काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सेवाप्रदायक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विदेशी रणनीतिक साझेदार भित्र्याउने घोषणा गरेको छ । बोर्डले चालू आर्थिक वर्षभित्रै नेप्सेमा रणनीतिक साझेदार ल्याउने जनाएको हो ।

बोर्डको आर्थिक वर्ष २०७७/७८ को धितोपत्र बजार तथा वस्तु विनिमयसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष भीष्मराज ढुंगानाले भने– नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाइने छ ।

मुलुकमा अर्को स्टक एक्सचेञ्ज स्थापना गर्ने पूर्वयोजना थाँती राख्दै बोर्डले साविकको स्टक एक्सचेञ्जमा विदेशी रणनीतिक साझेदार ल्याउने योजना बनाएको हो । मुलुकका अन्य सार्वजनिक संस्थानहरु नेपाल टेलिकम, नेपाल वायुसेवा निगमलगायतमा बर्सेनि विदेशी रणनीतिक साझेदार ल्याउने योजना बनाइने गरे पनि कुनै पनि संस्थानमा यस्तो योजना सफल हुन सकेको छैन ।

नेप्सेमा विदेशी रणनीतिक साझेदार ल्याउने योजना सहजै कार्यान्वयनमा आउनसक्ने सम्भावना भने छैन । जानकारहरुका अनुसार रणनीतिक साझेदारका लागि अर्थ मन्त्रालयको स्वीकृतिलगायत विदेशी निकायको रुचिजस्ता विषय त्यति सहज हुँदैनन् ।

बोर्डको नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को विद्युतीय कारोवार प्रणालीमा धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने पनि उल्लेख छ । नेप्सेमा कमजोर पूर्वाधार तथा बारम्बारको प्राविधिक समस्याले यसमा विलम्ब हुँदै आएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह